
बैंकिङ खबर/आगामी आर्थिक वर्षको बजेट निर्माण शुरु भएको छ । हाल बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट लिइरहेको अर्थ मन्त्रालयले नयाँ बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो। बजेट निर्माण कार्यतालिका अनुसार उक्त सूचक लिने समय यही चैत २४ गतेसम्म राखिएको छ।
मन्त्रालयले चैत १५ देखि ०८० वैशाख १० सम्म बजेटमा समावेश गर्नुपर्ने विषयबारे सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्नेछ। यसको जिम्मेवार निकाय बजेट तथा कार्यक्रम महाशाखा रहेको छ।
त्यस्तै चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल हुनेछ भने चैत २० सम्म विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार गरी पेस गर्न पत्राचार गरिनेछ।
चैत २१ देखि नियमित रुपमा राजस्व परामर्श समितिमा प्राप्त सुझावमाथि छलफल तथा सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन तयार गरिनेछ। त्यस्तै चैत २४ सम्म नै एलएमबीटीएसमार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गरिसक्नुपर्नेछ। चैत २६ देखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल गरिने कार्यतालिका छ। त्यस्तै २६ गतेदेखि वैशाख २० सम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरुसँग सशर्त अनुदानबारे छलफल हुनेछ।
सोही मितिमा मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल गरिनेछ भने वैशाख २ देखि २५ गतेसम्म वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम एकीन गरी बजेटमा राखिनेछ। चैत २६ देखि वैशाख २५ गतेसम्म बजेट सुझाव संकलन गरिनेछ। राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव, वरिष्ठ अर्थशास्त्री तथा विज्ञहरु त्यसमा सहभागी हुने मन्त्रालयले जनाएको छ।
त्योसँगै वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने, २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने, २५ गते तिनलाई संघीय संसदका दुवै सदनमा पेस गर्ने कार्यतालिका छ। त्यसैगरी वैशाख २५ गतेसम्ममा प्राविधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायताको एकीन गरिने, ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिई छपाईका लागि प्रेसमा पठाइनेछ।
३० गते मन्त्रालयगत प्रगति विवरण छपाईका लागि प्रेसमा पठाइनेछ भने जेठ १ गते बजेट वक्तव्यको पहिलो मस्यौदा तयार गरिनेछ। त्यस्तै जेठ ५ गते राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने र ६ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गरी १० गते राष्ट्रपतिलाई बजेट ब्रिफिङ गरिनेछ।




