२०७९ चैत्र १० गते

बैंकिङ उथलपुथलका बाबजुद अमेरिकामा बढ्यो ब्याजदर

बैंकिङ खबर/ अमेरिकामा यतिबेला एक पछि अर्को बैंक धरासायी अवस्थामा पुगेको छ । केहि दिन अघि मात्रै अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरायो ।

यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा हेरिएको छ । सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि राज्य नियामकहरूले अमेरिकाको न्यूयोर्क–आधारित सिग्नेचर बैंक पनि बन्द गरेको छ । यी बैैंकसँगै अमेरिकामा दर्जनौ बैंकहरु समस्याग्रस्थ अवस्थामा पुगेको छ । बैंक असफलताको एक श्रृंखलापछि यो कदमले वित्तीय उथलपुथल थप्न सक्ने डरको बाबजुद अमेरिकी केन्द्रीय बैंकले फेरि ब्याज दर बढाएको छ ।

फेडरल रिजर्भले यसको मुख्य दर ०.२५ प्रतिशत अंकले बढाएको छ । तर यसले बैंक असफलताको नतिजाले आगामी महिनाहरूमा आर्थिक वृद्धिमा असर पार्न सक्ने चेतावनी पनि दिएको छ । तर गत वर्षदेखि ब्याजदरमा भएको तीव्र वृद्धिले बैंकिङ प्रणालीमा तनाव उत्पन्न भएको छ ।

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक उच्च ब्याज दरको कारणले गर्दा समस्यामा रहेको थियो । बढ्दो ब्याजदरले ती ऋणपत्रलाई कम मूल्यवान बनाउन सक्ने भएकाले बैंकहरूले राखेका ऋणपत्रको मूल्यबारे चिन्ता व्यक्त गरिएको छ।

गत हप्ता, युरोपेली केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याज दर ०.५ प्रतिशत अंकले बढाएको थियो। बैंकका अधिकारीहरूले जारी गरेको प्रक्षेपणले यस वर्ष अर्थतन्त्र ०.४% मात्रै र २०२४ मा १.२% बढ्ने अपेक्षा गरेको छ, जुन सामान्यभन्दा तीव्र मन्दी हो । बुधबार फेडले लगातार नवौं पटक ब्याज वृद्धि गरेको हो ।

अध्ययन भन्छ, ‘थप १८६ बैंक डुब्ने खतरामा’

अमेरिकामा थप १८६ बैंक डुब्ने खतरामा पुगेका छन् । सोसल साइन्स ई–रिसर्च नेटवर्कले गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । ब्याजदरमा भएको वृद्धि र असुरक्षित निक्षेपका कारण यी बैंकहरुको यस्तो अवस्था भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकामा बैंकिङ संकट शुरु भएपछि मानिसले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा राख्न थालेका छन्। ठूला बैंकमा जोखिम कम हुने उनीहरुको विश्वास छ। दुई दशकयता अमेरिकामा ५०० भन्दा बढी बैंक टाट पल्टेका छन्।