बैंकिङ खबर/नेपाल प्रहरीले बैंकवित्तीय संस्था र कर्मचारीमाथि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिन थालेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ११ जना नियन्त्रणमा आइसकेका छन् भने ५ जना फरार छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत फागुन १६ गते जाजरकोटमा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र लुटपाट गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको छ। यसमा संलग्न ३ जना भने अझै फरार छन्। उनीहरु ९ जनाविरुद्ध डाँकाचोरी मुद्दामा कारबाही अघि बढेको छ।
त्यस्तै फागुन २५ गते झापामा रहेको अभियान लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ। ६ मध्ये २ जना अझै फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। यता चैत २ मा पर्वतमा एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने १ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आक्रमणमा संलग्न ती व्यक्तिविरुद्ध पनि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पर्वतमा एनआईसी बैंकको कर्मचारी आक्रमणको घटनामा संलग्न व्यक्तिलाई अभद्रसम्बन्धी कसुरमा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।