
बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई आधुनिक गुणस्तरीय बैंकिङ्ग सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताउनुभयो । उहाँले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनु भएको थियो । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनु भएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, के्रडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर(बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन् ।
