बैंकिङ खबर/लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार २८ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकबाट खोलेसिमलसम्म ¥याली समेत निकालेका थिए ।
ग्रामीण क्षेत्रबाट आएका लघुवित्तकर्मी एवं लघुवित्तका सदस्यहरुले ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तीय अराजकता बन्द गर’, ‘प्रतिस्पर्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ लगायतका प्लेकार्ड बोकेर नारासमेत लगाएका थिए । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले वित्तीय अनुशासन भए आर्थिक रुपमा समस्या नआउने बताए । आफ्नो आवश्यकता भन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उनको भनाइ थियो ।
घरका अभिभावक सचेत बनी बैंकको अवस्था, लगानीकर्ताको पहिचान गरी कारोबार गर्न उनको सुझाव छ । उनले भने, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि वित्तीय संस्थाहरुले रुवायो भन्दै नारा लगाउनु उचित होइन ऋण लिएपछि सबैले तिर्नुपर्छ ।” लगानी गर्ने वित्तीय संस्थालाई समेत उनले मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गरे । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थाको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले कोरोनापछिको आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताए । लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । लघुवित्त वित्तीय संस्थाहरुले बढी व्याज लिएको भन्ने सन्र्दभमा उनले अहिले लघुवित्तहरुले बढीमा १५ प्रतिशत व्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गरे ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताए । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उनले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकोले त्यहाँ छलफल भइरहेको बताए ।