
-लक्ष्मीप्रसाद पौडेल-
गाउँ थियो, घर थिएन, हल गोरु थिए, खेतबारी थिएन । गर्नेलाई कामै काम थियो । नगर्नेलाई फुर्सदै फुर्सद । आफ्नो भन्ने कोही थिएन । परि आउँदा सहयोग गर्ने । खेतबारी जमिन जे थियो, साहुकै थियो । आकाशतिर फर्केर हेर्यो, भरोसा त्यतै थियो । पानी परे उब्जनी हुन्थ्यो, नपरे अन्न साहुको दुःख आफ्नो भाग लाग्थ्यो ।
गाउँमा एउटा लहर आयो । ‘ग्रामीण बैंक ‘ नाम बोकेर केही युवा युवतीहरू गाउँ पसे । सरकारी योजना, गरिबी निवारणको उद्देश्य , घरदैलोमा वित्तीय सुविधा । विशुद्ध आमा दिदी बहिनीहरूको सहभागिता, महिलामा वित्तीय साक्षरता अभियान, औँठा छापले नहुने, अनिवार्य लेख्न पढ्न जान्नुपर्ने, लेख्न सिकायो आफ्नै नाम आफ्नै हातले । त्यो आनन्द, त्यो खुशी, त्यो हृदयदेखिको खुल्ला मुस्कान, आमाको ओठमा ग्रामीण समूहले ल्यायो । प्रौढ कक्षाहरू संचालन गरिए । नेतृत्व विकास तालिम भए । तिमी केन्द्र प्रमुख, म समुह अध्यक्ष , उनी उपप्रमुख जिम्मेवारी विभाजन भयो । कोही सचिव । अरु सबै सदस्य । सामूहिक जिम्मेवारी । एउटा छुट्टै रौनक ल्यायो , ग्रामीण बैकको लघुवित्त कार्यक्रमले ।
आमा भाउजुहरु भेला भए, समुह बनाए, केन्द्र बनाए । गाउँ-गाउँमा बैंक, घर घरमा समुह । घरमै लिने घरमै दिने । रोजेको पेशा खोजेको पैसा । सकेको बचत, चाहिएको खपत । दिदीबहिनीको साथ अप्ठ्यारोमा हात । सर्वसुलभ, सस्तो ऋण । साहु महाजनसँग हात फैलाउनै परेन । असंगठित ऋणधनमा लगाम लाग्यो । आफ्नै संगठन, आफ्नै संगठित संस्था, आफ्नै निर्णय, आफ्नै कमाई, आफ्नै खर्च । आफ्नै घर, आफ्नै खुशी, बच्चा खुशी, बुढो खुशी । स्वास्थ्य शिक्षामा, आर्थिक उन्नतीमा, आमाको साथ । सम्झँदा पनि उन्मुक्त भएर खुशीले उफ्रेऊ उफ्रेउ लाग्ने ती दिन ।
दुःख सुख त्यही हुन्थ्यो । सुत्केरी खर्च, क्रिया खर्च । उपचार खर्च, पुनर्स्थापना खर्च । मर्दा पर्दा बीमा सुविधा । जति धेरै मेहनत उति धेरै खुशी । पाँच हजारले पचास लाख पुग्यो । जग्गा जोड्यो , सम्पत्ति जोड्यो । अहिले त घर होइन महल छ मेरो ।
नारी शक्ति जुर्मुराएर उठ्यो । नारी जागरणले सार्थकता पायो । नारी दिवस भव्य मनायो । कोही नारी सहकारी सञ्चालक, कोही सामाजिक अभियन्ता भए । कोही राजनीतिक नेता । कति धेरै कर्मचारी महिला । महिला नेतृत्व विकासमा योगदान थियो त केवल उहिलेको ग्रामीण बैंक अहिलेको लघुवित्तको ।
थपिँदै गए संख्याहरु अरु विविध नाममा । लघुवित्तको बाढी आयो । गाउँघर पैसा नै पैसाले छायो । पैसा नै सबै थोक । विकासको आधार त्यही, विकृतिको पूर्वाधार त्यही । सदुपयोग गर्ने धेरै अरबपति, दुरुपयोग गर्नेमा थोरै मोजमस्ती । दुई दिनको उल्याली फेरि अधेरी रात । मति बिग्रियो । खति भयो । ऋण माथि ऋण थप्यो । उपती छैन। ऋणले खायो ऋणले तिर्यो। ऋणमा सुत्यो । ऋणमै डुब्यो ।
हुनेको गर्नेको चर्चा कोही गर्दैन यहाँ । राम्रा कुरा सफलताका कथा कोही पढ्दैन यहाँ । बिग्रेका मान्छेको उदाहरण बोकेर समय विगार्छन् सबै । सप्रेका मान्छे बिग्रको बाटो हिँड्दैनन् थाहा छ । अनेक थरीका लघुबित्त अनेक नियम केही झमेला अवश्य छ । हिजोको ग्रामीण बैंक आजको ग्रामीण विकास लघुवित्त उस्तै छ । संयमित छ, आफ्नो ४९ सालको उद्देश्यमा प्रतिबद्ध छ । तर निजी क्षेत्रको तीव्र महत्वकांक्षामा केही त्रुटी अवश्य छ । नियामक संस्था किन सुस्त छ ?
फेरि खोजौं, फेरि टोलटोलमा चर्चा गरौं । लघुवित्तले ल्याएको वित्तीय सारक्षता, नेतृत्व विकास, आर्थिक उन्नति, असंगठित क्षेत्रको विस्थापन , सम्पत्तिमा महिलाको पहुँच, परिवारमा, समाजमा महिलाको सम्मान के भुल्न सकिने , विर्सन मिल्ने , अपव्याख्या गर्नुपर्ने हो ? केही विकृतिहरूको निराकरण गर्दै अगाडि बढ्न अपरिहार्य छ । आज पनि गाउँघर उत्तिकै आर्थिक अभावमा छ ।
सानो-सानो ऋणको बचतको अपरिहार्यता उत्तिकै छ । सानो सानो पेशा गर्नेहरू आर्थिक अभावमा फेरि ओइलाउन बाध्य छन् । साहुको दैलो घच्घच्याउने अवस्था आएको छ । मिटर ब्याजले खाएको छ । ढुकुटीले सताएको छ । केही भ्रमहरु केही हल्लाहरु, केही यथार्थ पनि, सबैको मिलेर समाधान खोजौं । यो समाज सबैको हो । समाज बिग्रे देश बिग्रन्छ । देशको माया आमाको माया पक्कै होला सबैमा ।
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्चन्तु , मा कश्चिदु:ख भागभवेत। , ॐ शान्ति: ॐ शान्ति: ॐ शान्ति:।
(लेखक , ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा कार्यरत हुनुहुन्छ)


