२०७९ फाल्गुन १४ गते

लघुवित्त संस्था, भ्रम, आरोप र यथार्थ

मधुसुदन पोख्रेल

लघुवित्त संस्थाका विषयमा हिजोआज केहि राष्ट्रिय मूलधारका अखबार र अनलाइन मिडिया एफएम, रेडियो र टेलिभिजनमा विभिन्न सकारात्मक-नकारात्मक समाचारहरु आइरहेका छन् । यसैगरी यी संस्थाका क्रियाकलाप प्रति लक्षित गरी विभिन्न समूह, व्यक्ति र केही राजनीतिक पार्टीबाट समेत विभिन्न आरोप तथा गम्भीर प्रश्नहरु खडा भएका छन् । यस विषयको चर्चा प्रतिनिधि सभाको बैठकमा समेत प्रवेश गरेको छ ।

बैंक तथा वित्तीय संस्था प्रति गम्भीर अविश्वास पैदा हुँदै जाँदा मुख्य गरी अर्थतन्त्रको तीन ओटा पक्षसँग प्रत्यक्ष्य नकारात्मक प्रभाव पर्दछ । पहिलो सरकारी अर्थतन्त्रमा व्यापक संकुचन हुनपुग्छ । दोस्रो संस्थाको सुदृढीकरण र दीगो स्थायित्वमा अवरोध उत्पन्न भई यसले प्रदान गर्ने सेवा, सुविधा र रोजगारीको अवसरमा व्यापक कटौति हुन्छ ।

तेस्रो महत्वपूर्ण कुरा व्यवसायी, अथवा लक्षित वर्गलाई बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने विविध सेवा र सुविधा प्रति अवरोध उत्पन्न हुन पुग्छ । यसको विपरित यसबाट पुग्न जाने फाईदा भनेको साहुकर, माहाजन र अनौपचारिक क्षेत्रलाई हो । जसलाई २१ औं शताब्दीको खुला र उदार अर्थतन्त्रले कदापी स्वीकार गर्न सक्दैन ।

मुख्य समस्या गरिबी

विश्व मानचित्रमा विभिन्न तथ्य, तथ्याङ्क, विकास, आदि विश्लेणका दृष्टिकोणले नेपाल गरिव देश हो । हामी कोही धनका गरिब छौं । कोही मनका । कोही क्षमता गरिब छौं । कोही सोचका कोही राजनीतिक गरिब छौं । कोही व्यवसायीक, कोही प्रविधिका गरिब । कोही पेसागत गरिबी त कोही प्रवृत्तिका गरिब छौं । अझ परिभाषित शब्दमा भन्दा कोही सापेक्ष गरिबी त कोही निरपेक्ष गरिबीको रेखामुनी रुमल्लीएका छौं । यही नै गरिबीको मूल जरो हो । जसलाई उखेल्न जरुरी छ ।

लघुवित्त कार्यक्रमको सुरुवात

बंगलादेशका नोवेल शान्ति पुरस्कार बिजेता डाक्टर मो.युनुसको लघुवित्त सम्बन्धी अवधारणा विकास भई हाल संसारभर छरिएको छ । उनले सन् १९८० को दशकमा बंगलादेशमा आधुनिक शैलीको लघुवित्त कार्यक्रम सुरुवात गरे ।

सन् १९८३ मा बंलादेश ग्रामीण विकास बैंकको स्थापना भयो । लघु वित्तका यस्ता सफल कार्यक्रम विश्वका अन्य भूभागमा पनि सञ्चालित छन् । सोही अवधारणामा नेपालमा वि.सं. २०४९ साल देखि सरकारी स्वामित्व र निजि स्तरमा लघुवित्त संस्थाहरु स्थापना भई सञ्चालनमा रहेका छन् ।

लघुवित्त संस्थाको योगदान

गरिबी न्यूनिकरण गर्ने प्रमुख उद्देश्यले लघुवित्त संस्था स्थापना भएका हुन् । नेपाल राष्ट्र बैंकको २०७९ असोज मसान्त सम्मको तथ्यांक अनुसार हाल ६४ वटा लघुवित्त संस्थाका ५ हजार ६८ बटा शाखा, २३ हजार ३ सय ७४ कर्मचारी, ५९लाख ३६ हजार सदस्य, र ३३ लाख १० हजार ऋणी रहेका छन् जसमा ९७ प्रतिशत ऋणी महिला रहेका छन् ।

सातै प्रदेशका ७७ जिल्लामा लघुवित्त संस्थाको सेवा विस्तार भएको छ । उक्त अवधिसम्म यी संस्थाको लगानीमा रहेको बाँकी कर्जा ४.५७ खर्ब र बचत संकलन १.६४ खर्ब रहेको छ । निकट समयमा करिव डेढ दर्जन र भविष्यमा थप लघुवित्त संस्थाहरु मर्जर जाने निश्चित छ । ग्रामीण दूरदराजसम्म पुगेर लाखौं घर परिवारका बीचमा प्रतक्ष्य रुपमा वित्तीय मध्यस्थता र सेवा पुर्‍याउने काममा लघुवित्त संस्थाको योगदान महत्वपूर्ण रहेको छ ।

बैंकिङ सुविधा नपाएका तर लघुवित्तको साहाराले समृद्धी पथमा लम्केका लाखौं व्यक्तिका जिवन कथा र उदाहरण समाजमा प्रसस्त रहेका छन् ।

आरोपको तारोमा लघुवित्त संस्था

लघुवित्त संस्थाको पवित्र उद्देश्य गरिबी न्यूनिकरण गर्नु हो । कार्यक्रम सञ्चालमा भएका कमी कमजोरी र छिटफुट घटनालाई जोडेर अहिले लघुवित्त संस्थाका बारेमा विभिन्न सभा सम्मेलन र मिडियामार्फत दैनिक नकारात्मक चर्चा, परिचर्चा र समाचारहरु आइरहेका छन् । यो गम्भिर विषय हो ।

जसरी कुनै एक जना व्यक्तिले चोरी गरेको अवस्थामा सम्पूर्ण व्यक्तिलाई चोरीको आरोप लगाउन मिल्दैन । सोही व्यक्ति मात्र सजाएको भागिदार हुन्छ । त्यसै गरी केही लघुवित्त संस्थामा भएको कमी कमजोरीलाई जोडेर सम्पूर्ण लघुवित्त इण्डष्ट्रिलाई बदनाम गर्न खोज्नु कदापी न्यायोचित हुँदैन ।

नेपालमा विगतका वर्षहरुमा लघुवित्त कार्यक्रमको योगदानका बारेमा प्रशस्त चर्चा परिचर्चा भएका छन् । वर्तमान समयमा लघुवित्त संस्था प्रति लाग्ने गरेका आरोप र यी संस्थाहरुका सैद्धान्तिक तथा व्यवहारिक पक्षको बारेमा यथार्थ विश्लेषणका हुन जरुरी छ ।

आरोप नं. १ः लघुवित्त संस्थाको कारण गरिबी बढ्यो 

यथार्थः हाम्रो सबैभन्दा ठूलो साझा शत्रु भनेको गरिबी हो, लघुवित्त हैन । गरिबी र पछौटेपन हाम्रो देशको प्रमुख सत्रु हुन् । वास्तवमा सर्पको खुट्टा सर्पले नै देख्न सक्छ भनेझै यस देशको वास्तविक गरिबीलाई बुझ्नका लागि ग्रामीण दूरदराजसम्म पुग्नुपर्ने हुन्छ ।

सरकारी औपचारीक तथ्यांक अनुसार सन् १९९५ मा ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोमा हाल ४९ लाख मानिस बहुआयामिक रुपमा गरिब छन् । जुन नेपालको जनसंख्याको १७.४ प्रतिशतमा रहेको छ ।

केही अपवाद र छिटफुट घटनाहरुलाई छोडेर हेर्ने हो भने यी संस्थाले गरिवी न्यूनिकरणमा पु¥याएको योगदान सरकारी र गैरसरकारी स्तरबाट प्रकाशन भएका विभिन्न प्रतिवेदनहरुमा स्पष्ट उल्लेख भएको छ ।

गरिबी न्यूनिकरणको साथै वित्तीय पहुँचमा अभिवृद्धि, महिला सशक्तीकरण, विपन्न वर्गमा बैंकिङ बानीको विकास, घर दैलोमै बैंकिङ सेवाको सुरुवात, ग्रामीण क्षेत्रमा शाखा सञ्जाल, कर्जा लिंदा लाग्ने अदृश्य खर्चहरुको उन्मूलन÷कटौती आदि लघुवित्त संस्थाले गरेका महत्वपूर्ण उपलब्धि हुन् ।

सबैभन्दा महत्वपूर्ण कुरा विपन्न वर्गसँग पनि बैंकिङ कारोबार हुनसक्छ भन्ने कुरा प्रमाणित गरी विपन्न वर्गलाई औपचारिक वित्तीय पद्धतिमा आवद्ध गर्न लघुवित्त संस्था सफल भएका छन् । लघुवित्त संस्थाको कारण गरिबी बढ्यो भन्ने आरोप न्यायसंगत देखिदैन । तथापी दीर्घकालिन स्थायित्वका लागि लघुवित्त संस्थाहरु आगामी दिनमा थप जिम्मेवार र जवाफदेही बन्नु आवश्यक छ ।

आरोप नं.२ः लघुवित्त संस्था अत्याधिक मुनाफा आर्जन गर्ने सुदखोरहरू हुन् 

यथार्थः आर्थिक अवस्था कमजोर भएका वित्तीय सेवामा सहज पहुँच नभएका विपन्न वर्गका महिलाहरु लघुवित्त संस्थाका लक्षित वर्ग हुन् । जससँग कर्जा लिनको लागि आवश्यक भौतिक धितो हुँदैन वा भए पनि धितो राखेर कर्जा लिन डराउँछन् ।

त्यसैले लघुवित्त संस्थाहरुकोे प्रायःजसो कर्जा विना धितो सामूहिक जमानीमा प्रदान गरिन्छ । लघुवित्त संस्थाले विना धितोको कर्जामा लिने अधिकतम व्याजदर नेपाल राष्ट्र बैंकले तोके बमोजिम १५ प्रतिशत छ ।

उक्त व्याजदर केही बढी हुनुका विभिन्न कारणहरुमा लघुवित्त संस्थाले विना धितो स–सानो कर्जा ग्राहकको घरदैलोमा नै वितरण गर्छन । कर्जा असुली, केन्द्र बैठक सञ्चालन, बचत संकलन र समूह निर्माण लागि कर्मचारीहरु फिल्डमा जानु पर्दछ । एक अध्ययन अनुसार विश्वका अन्य देशमा सञ्चालित लघुवित्त संस्थाले लिने व्याजदरको तुलनामा नेपालमा यी संस्थाले लिने व्याजदर कमी रहेको छ ।

वर्तमान समयमा लघुवित्त संस्थाले प्राप्त गर्ने वित्तीय स्रोतको लागत महंगो भएको हुँदा सञ्चालन खर्च बढी भै मुनाफामा उल्लेख्य गिरावट आएको देखिन्छ । यी संस्थाले पनि नीति विपरित कार्य गरेमा अनुगमन, नियन्त्रण र कारवाही गर्ने नियामक निकाय नेपाल राष्ट्र बैंक रहेको छ ।

हालै मात्र केही लघुवित्त संस्थाले लिएको सेवाशुल्क वापतको रकम ग्राहक हरुलाई फिर्ता गर्न राष्ट्र बैंकले कडा निर्देशन दिइसकेको छ । तसर्थ कमी कमजोरीलाई सुधार गरी आरोपलाई चिर्दै आगामी दिनमा लघुवित्त संस्था अझ बढी ग्राहक मैत्री बन्न जरुरी छ ।

आरोप नं. ३ः लघुवित्तका कारण मानिसहरु विदेश जान र गाउँ छोड्न बाध्य भए 

यथार्थः सामाजिक परिवेश, व्यक्तिगत इच्छा, आवश्यत्ता आदि विभिन्न परिस्थितिबाट मानिसहरु रोजगारीका लागि विदेश जानु, एक गाऊँबाट अर्को गाऊँ बसाई सराई गर्नु विगत लामो समय देखि चल्दै आएका परिस्थितिजन्य विषयहरु हुन् ।

गाउँमा रोजगारीका प्रर्याप्त अवसर छैनन् । उद्योग धन्दाको विकास तथा विस्तार हुन सकेको छैन । विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनमा कतिपय उद्योग धन्दा, व्यापार व्यवसाय समेत बन्द भएका तितो यथार्थ सबैको सामु छर्लङ्ग छ । व्यवसाय चलेको छैन, आम्दानी घटेको छ ।

कोभिडको असर अर्थतन्त्रका सबै क्षेत्रमा देखिएको छ । आर्थिक अवस्था संकुचन र कमजोर बनेको छ । ग्रामीण क्षेत्रमा अधिकांश निर्वाह मूखी कृषि कार्य हुन्छ । उत्पादन भएको बस्तुले समयमा बजार पाउन नसक्दा कृषकहरुले सडकमा तरकारी फाल्ने, दुध पोख्ने गरेको दृय हाम्रो मानसपटलमा ताजा नै छ ।

अर्कोतर्फ सामाजिक परिवेश, ग्राहकको उच्च महत्वकांक्षा र तत्कालको गर्जो टार्नका लागि जहाँबाट जति पनि ऋण लिने ग्राहकहरु अधिक ऋणको चापमा परी लुक्न बाध्य भएका घटना हाम्रो समाजका तितो यर्थाथ हुन् । गहिरिएर हेर्ने हो भने लघुकर्जा मार्फत आर्थिक र सामाजिक रुपमा सफलता हासिल गरेका लाखौं व्यक्ति र घरपरिवारहरु उदाहरणीय रुपमा रहेका छन् । जससलाई नजरअन्दाज गर्नु कदापी न्यायोचित हुँदैन ।

आरोप नं. ४ः लघुवित्त संस्थाका कारण महिलाहरुमा कुनै परिवर्तन आएन 

यथार्थः लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विनाधितो सामूहिक जमानीमा लघु व्यवसाय सञ्चालन गर्न सहयोग पु¥याइ रहेकाछन् ।

यस वित्तीय प्रणालीबाट गरिबी निवारण, महिला सशक्तिकरण, पछाडि परेको क्षेत्रमा वित्तीय पहुँचको अभिवृद्धिका साथै समग्र आर्थिक र सामाजिक उत्थानमा उल्लेखनीय योगदान पुगेको छ । यस कार्यक्रममा धितो राख्न नसक्ने परम्परागत बैंकिङ प्रणालीबाट उपेक्षित महिलाले स–साना व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्षम भएका छन् ।

महिलाले आफ्नो स–साना आवश्यकत्ता पुरा गर्न परिवारका पुरुष सदस्यसँग हातथाप्नु पर्ने नियतिलाई यसले तोडिदिएको छ । परिवारमा महिला सदस्यको आय हुँदा फजुल खर्च कम हुने, परिवारको आधारभूत आवश्यकताको परिपूर्ति, सरसफाई तथा स्वास्थ्य, बालबच्चाको पोषण र शिक्षामा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको छ । यसले महिलालाई परिवार भित्रै र समाजमा सम्मानपूर्वक स्थापित गरेको छ ।

लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको छ । तसर्थ महिलाहरुको समाजिक रुपान्तरणको लागि स्वच्छ, सेवामुखी, पारदर्शी र जवाफ देही व्यवसायको रुपमा लघुवित्त कार्यक्रमलाई थप विस्तार गर्नु पर्ने देखिन्छ । यस कार्यक्रमबाट लाखौं परिवारको जीवनस्तरमा सुधार, सामाजिक सुरक्षा एवम् बाल शिक्षामा महत्वपूर्ण योगदान पु¥याएका पुुगेको छ ।

आरोप नं. ५ः लघुवित्त संस्था मुनाफामुखी भए सेवामुखी भएनन् 

यथार्थः बैंकिङ्ग अभ्यासले जहाँ सम्भावना छ त्यहाँ लगानी गर्नु पर्दछ भन्ने कुरालाई जोड दिन्छ । तर लघुवित्त अभ्यासले जहाँ गरिबी छ, गरिब परिवारहरु छन् जसले कुनै सम्भावना नदेखेर हात खुम्चाएर बसेका छन्, उनीहरुलाई संम्भावना देखाएर लगानी गर्न प्रोत्साहित गर्नु पर्दछ भन्ने कुरालाई जोड दिन्छ । संस्थाको दीर्घकालिन स्थायित्वका लागि सामान्य मुनाफा हासिल गर्नु बाञ्छनिय विषय हो ।

खासमा भन्ने हो भने लघुकर्जा मार्फत स्थानीय स्तरमा विभिन्न स्व–रोजगारका अवसरहरुको सृजना भएका छन् । विभिन्न लघुवित्त संस्थाले विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विभिन्न प्रकारका राहत कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । जसमा प्रसुती खर्च, किरीया खर्च, औषधी उपचार खर्च, पुनस्र्थापना खर्च, शिक्षामा प्रोत्साहन खर्च आदि रहेका छन् । यस्ता राहत कार्यक्रम मार्फत कठिन परिस्थितिमा समेत ग्राहकहरुलाई सहयोग र सेवा पुगेको छ ।

यसैगरी समय समयमा वित्तीय साक्षरता कार्यक्रम, सीप विकास तालिम, सदस्यहरुको अध्ययन अवलोकन भ्रमण आदि कार्यक्रम विभिन्न लघुवित्त संस्था मार्फत सञ्चालन हुँदै आइरहेका छन् । तसर्थ, यी लघुवित्त संस्थाका यस्ता महत्वपूर्ण सामाजिक कार्यहरुको उच्च मूल्याङ्कन हुन जरुरी छ ।

आरोप नं. ६ः लघुवित्तका कारण महिलाहरु घर र जंगलमा लुकेर बस्न बाध्य भए

यथार्थः समयको गति संगै मानिसको जीवनशैलीमा आएको बद्लावले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । प्रत्येक मानिसका बाध्यता र आकांक्षाहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । शिक्षा र स्वास्थ्यमा खर्च अत्याधिक बृद्धि भएको छ । सामाजीक संस्कार र बिहेवारीमा देखासिकी र दाइजो प्रर्थाको प्रभाव बढेर गएको छ ।

आधुनिक जीवन शैलीले मानिसलाई लोभ्याइ रहेको छ । गास, बास, कपास जस्ता आधारभूत आवश्यक्तामा स्तर उन्नति गर्ने क्रम बढेर गएको छ । के शहर के गाऊँ को धनी को गरिब यसको प्रतक्ष्य प्रभाव मुद्राको मूल्यसंग जोडिएको छ । मूल्यवृद्धि दर उच्च गतिमा बढेको छ । रोजगारीका अवसरहरु बढ्न सकेका छैनन् ।

लघुवित्त संस्थाको नौ सिद्धान्तमा ग्राहकले ऋण लिंदा घाँटी हेरेर हाड निल्नु भनेझैं तिर्न सक्ने जतिमात्र कर्जा दिन सिकाईएको हुन्छ । तर यसको विपरित ग्राहकको उच्च महत्व कांक्षा र तत्कालको गर्जो टार्नका लागि जहाँबाट जति पनि ऋण लिने प्रवृतिका कारण ग्राहकहरु अधिक ऋणको चापमा परेपछि ऋण तिर्न नसक्दा विदेश जान र लुक्न बाध्य भइरहेका छन् । यस्ता घटनाहरु दुखद् विषय हुन् । यसमा केवल लघुवित्त संस्थामात्र जिम्मेवार नभएर सामाजीक विभिन्न पक्षका कमी कमजोरी पनि छन् । यी समस्याको समाधानका लागि अब सबै गम्भिर रुपमा अगाडि बढ्नु पर्दछ ।

आरोप नं. ७ : लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्नुपर्छ 

यथार्थः नेपालमा रहेको गरिबी न्यूनिकरण गर्न लघुवित्त कार्यक्रम कोसेढुङ्गा सावित भएका छन् । लघुवित्तको कार्य क्षेत्रमा काम गर्नु भनेको कुनै उपाधी जित्नु, ओलम्पिक खेल जित्नु, मदन पुरष्कार पाउनु, परीक्षामा पास हुनु, निर्वाचित भएर फूलमाला खादा लगाउनु, सभा सम्मेलनमा ताली पाउनु जस्तो सजिलो कार्य होइन ।

यसको सफलताका लागि ग्रामीण दूरदराजमा रहेका बस्तीमा पुग्न कठिन श्रम र पसिना बगाउनु पर्छ । विपन्न वर्गका परिवारहरुको विश्वास, आस्था र स्वभिमानलाई कायम राख्दै उनिहरुको आर्थिक तथा सामाजीक परिवर्तका लागि विभिन्न चुनौतिसँग जुद्धै निरन्तर रुपमा काम गर्नु पर्दछ । लघुवित्त संस्थाको फिल्डमा कामगर्नु भनेको कुनै उपाधी जित्नु वा मदन पुरष्कार प्राप्त गर्नु भन्दा कम महत्व पूर्ण छैन ।

संसारका सबै साधन तथा स्रोतहरुलाई परिचालन गर्ने प्रमुख साधन भनेको मानव संसाधन हो । कतिपय संस्थामा वैयक्तिक कारणले केही कमी कमजोरी पनि भएका हुन सक्छन् । यसलाई सुधार गर्नुको विकल्प छैन । संस्थागत र सामाजिक आचार संहितामा रहेर नीति नियमको कार्यान्वयन गराउने क्रममा कर्मचारीलाई कालोमोसो दल्ने अराजक कुराले वित्तीय संस्था र देशको अर्थतन्त्रमा गम्भिर अस्थिरता पैदा गर्दछ ।

ल मानौं लघुवित्त वित्तीय संस्था वन्दभए । वाणिज्य बैंकहरुले विकट ग्रामीण दूरदराजसम्म पुगेर विना धितो लघु ऋण वितरण गर्न अहिले कै अवस्था र संरचनामा सम्भवछैन । लगानीको क्षेत्र र सेवाग्राहीको संख्या सानो हुँदा कार्यक्रम सञ्चालन गर्न धेरै लागत लाग्ने भएकोले ठूला कमर्शियल बैंकहरु सानो क्षेत्रमा सजिलै आकर्षीत हुँदैनन् । यसको सबै भन्दा ठुलो असर विपन्न वर्गका नागरीक माथि पर्दछ ।

त्यसकारण क्षणिक आवेग र उत्त्तेजनामा आएर ठुलो जिम्मेवारी बोकेका लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरुलाई हतोत्साहित गर्नु कदापी राम्रो हुँदैन । कर्मचारीहरुले पनि संस्थागत तथा वित्तीय अनुशासन र सामाजीक मूल्य मान्यतालाई पूर्णरुपले पालना गर्नुपर्दछ ।

आरोप नं. ८ः लघुवित्तका कारण आत्महत्या गर्ने क्रम बढेर गयो 

यथार्थः यो अत्यान्त संवेदनशील विषय हो । कुनै पनि व्यक्ति कुनै पनि कारणले आफ्नो जीवन परित्याग गर्नु पर्ने अवस्थामा पुग्नु हुँदैन ।

यसका पछाडी विभिन्न, आर्थिक, समाजिक, पारिवारीक, शारीरिक आदि अवस्थाहरु जोडिएका हुन सक्छन् । लघुवित्त कार्यक्रमको मुल उद्देश्य नै मानिसहरुको जीवनस्तरको सुधारका लागि आर्थिक तथा सामाजीक सेवा पु¥याउनु हो । यस परिवेशमा कसैले वास्तै नगरेका विपन्न वर्गका लाखौ परिवारलाई वित्तीय सेवा प्रदान गर्ने काम लघुवित्त संस्थाहरुले काम गरिरहेका छन् ।

नीतिनियमको कार्यान्वयमा भएका कमीकमजोरी, ऋणीहरुको क्षणिक आवेग र उत्तेजनाले गर्दा आत्महत्या जस्ता अप्रिय घटना बारम्बार दोहोरीनु अत्यन्तै दुखद् विषय हो । यस तर्फ समयमै सबै जिम्मेवार बन्नु पर्ने देखिन्छ ।

लघुवित्त संस्थाको उद्देश्य मानिसलाई अर्वपति बनाउन होइन, गरिबको आर्थिक स्तर उकास्नका लागि हो । यस कार्यक्रमबाट गाऊँको अर्थतन्त्र र लाखौं परिवारको जीवनस्तर माथि उकास्न टेवा पुुगेको छ ।

तसर्थ, लघुवित्त क्षेत्रलाई मर्यादित एवम् अनुशासित बनाइनु पर्दछ । यस्ता जटिल समस्याको समाधानका लागि हरेक मानिसहरुले पनि स–साना घटना र समस्याबाट विचलित नभई आफ्नो अमूल्य जीवनलाई सुन्दर र सम्पन्न बनाउन उच्च कर्म गर्दै चौतर्फी पाइला चाल्नु पर्छ ।

आरोप नं. ९ः नेपाल राष्ट्र बैकले लघुवित्तको लाईसेन्स मात्र बाँड्यो अनुगमन र नियन्त्रण गर्न सकेन 

यथार्थः लघुवित्त संस्थाहरु नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त प्रतक्ष्य नियमन हुने वित्तीय संस्था हुन् । यी संस्थाहरुको सन्दर्भमा नेपाल राष्ट्र बैंकको भूमिका अन्य देशको तुलनामा राम्रो नियमन भएको देशमा नेपाल पनि पर्दछ । समय समयमा स्थलगत अनुगमन र नीतिगत व्यवस्था कायम गरी नेपाल राष्ट्र बैंकले लघुवित्तका क्षेत्रमा देखा परेका समस्याहरुमा आवश्यक सहजिकरण र गलत कृयाकलापका विरुद्ध कारवाही तथा नियमन र नियन्त्रण गर्दै आइरहेको छ ।

यसको पछिल्लो उदाहरण २०७९ फागुन १० गते नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन परिमार्जन थप व्यवस्था गरी आवश्यक निर्देशन जारी गरेको छ । संस्थागत सुशासनको पालनाका लागि लघुवित्त संस्थाले यी निर्देशनको पालना गर्नु पर्ने हुन्छ । यसबाट लघुवित्त संस्थाहरु थप जिम्मेवार, मर्यादित्, जवाफदेही र व्यवस्थित सञ्चालन हुने, मर्जरमा जान प्रोत्साहित हुने, लघुवित्तको संख्यामा कमी आउने आदि सकारात्मक नतिजाको आकलन गर्न सकिन्छ ।

अझै पनि एउटा सानो तलाउमा धेरै डुंगाहरु राख्दा आपसमा ठोकिएर डुबे जस्तै धेरै लघुवित्त कार्यक्रम एकै स्थानमा संचालन गर्दा ऋणी र संस्था दुवै उच्च जोखिममा पर्ने संभावना टरेको छैन । तसर्थ नियमनकारी निकायबाट नीति नियमको फेरवदल गर्दा यो देशको सबैभन्दा ठुलो चुनौति गरिबी न्यूनिकरणका लागि लक्षित लघुवित्त संस्थाको सञ्चालनमा जटिलता पैदा गर्ने कार्य गर्नु हुँदैन ।

आरोप नं. १०ः लघुवित्त संस्थाले चुनौतिमात्र बढाए अवसर बढाएनन् 

यथार्थः विभिन्न पटक भएका अध्ययन, छलफल र हाल भइरहेको प्रयोगले गरिबी निवारणको एक सशक्त माध्यम लघुवित्त हो भन्नेकुरा दोह¥यार्इं रहनु पर्दैन । गरिब र विपन्न वर्गका लागि वित्तीय सेवाको मूल्य भन्दा पहुँच बढी महत्वपूर्ण हुन्छ भन्ने दर्शन लघुवित्त हो । लघुवित्त कार्यक्रमले महिलाहरुको आर्थिक कारोवारमा बृद्धि गरी जीवनस्तरमा सुधार ल्याएको छ ।

महिलाहरुमा बैंकिङ्ग चेतनाको विकासले असंगठित क्षेत्रहरु साहु महाजनबाट ऋण लिने कृयाकलापमा कमी आएको, सामूहिक भावनाको विकास, नेतृत्व क्षमतामा बृद्धि भएको छ । ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजी उत्पादनशील कार्यमा प्रयोग गर्न टेवा पुगेको छ ।

लघुवित्त कार्यक्रमले सुशासन, राजनैतिक प्रकृयामा सहभागी, महिला सशक्तिकरण, तालिम, शिक्षा स्वास्थ्य र सामाजिक जागरण तथा समावेशिकरण आदि क्षेत्रमा सकारात्मक प्रभाव पारेको हुँदा लघुवित्त कार्यक्रमबाट प्राप्त हुने अवसर र आयाम फराकिलो बन्दै गइरहेको छ ।

उपसंहार

नेपालको ग्रामीण क्षेत्रको आर्थिक विकास र गरिबी न्यूनिकरणको ‘अचुक अस्त्र लघुवित्त कार्यक्रम हो’ भन्दा फरक पर्दैन तर यसको सही कार्यान्वयन भएमा मात्र यो यूक्ति चरितार्थ हुने छ । आगामी दिनमा लघुवित्त कार्यक्रमलाई गरिबी न्यूनिकरण गर्ने परंपरागत शब्दावलीको सट्टा ‘समृद्ध नागरिक निर्माणको अभियान’ जस्ता उत्साहित शब्दावली प्रयोग गर्न उपयूक्त हुनेछ ।

आज लघुवित्तको क्षेत्रमा हिजोको जस्तो अवस्था पक्कै छैन । चुनौतिहरु दिन प्रतिदिन चुलिंदै गएका छन् । भविष्यमा अझ बढी जिम्मेवारीका साथ गर्नु पर्ने काम धेरै छन् ।

यी संस्थाले पनि कार्यक्रम सञ्चालनका दौरानमा भएका कमि कमजोरीलाई सुधार गर्नु पर्ने धेरै विषय छन् । यसैगरी सतही विश्लेषणका आधारमा समग्र लघुवित्त संस्थाको कार्यक्रम र पवित्र उद्देश्यलाई हतोत्साहित गर्ने जस्ता कृयाकलापहरु पनि बन्द हुनु जरुरी छ ।

महत्वपूर्ण कुरा के भने धेरै वटा सही निणर्यले दिने लाभ भन्दा एउटै खराब निर्णयले पुर्‍याउने हानि बढी गम्भीर हुन सक्दछ । यसतर्फ समयमै सबै पक्ष चनाखो, जवाफदेही र जिम्मेवार हुन पर्दछ ।

अन्त्यमा देशको समवृद्धिका लागि संसारले बुझेर महत्व दिएको लघुवित्त कार्यक्रमलाई नेपालले पनि अझै केही दशकसम्म उच्च प्राथमिकता दिएर व्यवस्थित रुपमा सञ्चालन गर्नु पर्ने देखिन्छ ।

!!! भवतु सब्व मंगलम् !!!