
बैंकिङ खबर/ क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा आज बिटक्वाइनको मूल्य २३७८८ डलरमा अन्तिम कारोबार भएको हो । गत वर्ष जुलाईमा बिटक्वाइनको मूल्य २३००० डलरमा कारोबार भएको थियो। त्यसपछि बिटक्वाइनको भाउ घटेर १६००० डलरको न्यून स्तरसम्म झरेको थियो।
गत जनवरीदेखि माथिको यात्रा तय गरेको बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा पनि उकालो लगिरहेको छ। प्राविधिक रुपमा हेर्दा बिटक्वाइनको सेयरमा मन्थली चार्टमा हाल मर्निङ स्टार बनेको छ। यो भनेको बिटक्वाइनको मूल्य अझै माथि जान सक्छ।
के हो बिटक्वाइन
के हो बिटक्वइन ?
बिटक्वइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । बिटक्वाइन २००९ मा चलनचल्तीमा आएको थियो । यसको आविष्कार जापानका सातोसी नाकामोतोले गरेको मानिन्छ, यद्यपि उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ । यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर, जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ । उदाहरणका लागि विश्वभर एक बिटक्वाइनको मूल्य कुनै दिन १९ हजार ८ सय ६० डलरबराबर थियो ।
बिटक्वाइनको सबैभन्दा सानो करेन्सी सातोसी हो । १० करोड सातोसीको एक बिटक्वाइन हुन्छ । कुनै पनि करेन्सी, सामान वा सेवाबापत बिटक्वाइन खरिद गर्न सकिन्छ । यसमा कुनै देश, बैंक वा अथोरिटीको कन्ट्रोल हुँदैन । यसमा पैसा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कैयौँपटक यसको मूल्य केही घण्टामै ४० देखि ५० प्रतिशतसम्म झरेको छ । क्रिप्टोकरेन्सीको ज्यादातर प्रयोग गैरकानुनी काममा भइरहेको छ ।
कसरी सुरु भयो बिटक्वइन ?
सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले । उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटक्वाइन नै छ ।
बिटक्वइनबाहेक लोकप्रिय अन्य केही मुद्रा
बिटक्वइनबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यहाँ दिइन्छ –
१. रेड क्वइन : रेड क्वइन विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।
२. सिया क्वइन : सिया क्वइन पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो क्वइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।
३. यसवाइयस क्वइन (सिस्क्वइन) : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । सिस्क्वइनले ब्लकचेनमा काम गर्दछ जुन बिटक्वइनकै एक अंश हो ।
४. भ्वइस क्वइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।
५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीका फाइदा
कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । क्रिप्टोकरेन्सीका पनि फाइदा र बेफाइदा दुवै छन् । यसका बेफाइदा कम र फाइदा अधिक छन् ।
१. क्रिप्टोकरेन्सी एक डिजिटल करेन्सी हो जसमा फ्रड केसहरू धेरै कम हुन्छन् ।
२. अधिक पैसा भएको खण्डमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु फाइदाजनक हुन्छ किनकि यसको मूल्य धेरै छिटो बढ्छ । यो लगानीको राम्रो प्लेटफर्म हो ।
३. अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन् जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल भएको छ ।
४. क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ ।
५. त्यस्ता धेरै देश छन् जहाँ पुँजी नियन्त्रण हुँदैन । अर्थात् त्यहाँ कति पैसा देशमा भित्र्याउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ ।
६. क्रिप्टोकरेन्सीको सबैभन्दा बढी फाइदा त्यस्ता व्यक्तिलाई हुन्छ जसले आफ्नो धन लुकाउन चाहन्छन् । त्यसैले क्रिप्टोकरेन्सी पैसा लुकाउनसमेत उत्तम प्लेटफर्मका रूपमा देखापरेको छ ।
७. क्रिप्टोकरेन्सी मुद्रा पूर्ण रूपमा सुरक्षित छ । यसका लागि तपाईंले प्रमाणीकरण गर्नुपर्छ, किनभने यस्तो मुद्रा ब्लकचेनमा आधारित हुन्छ ।
क्रिप्टोकरेन्सीका बेफाइदा :
१. क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो बेफाइदा यसको भौतिक अस्तित्व नहुनु हो, कारण यसलाई प्रिन्ट गर्न सकिँदैन । न यो करेन्सीको नोट छाप्न सकिन्छ, न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ ।
२. क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाव भइरहन्छ । यसको मूल्यमा कहिले उछाल आउँछ त कहिले ठूलो गिरावट आउँछ, जसका कारण यसमा लगानी जोखिमपूर्ण छ ।
३. हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ किनभने यसको प्रयोग दुई व्यक्तिका बीचमा मात्र हुन्छ । त्यसैले यो खतरनाक पनि हुन सक्छ ।
४. यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । यसमा पूर्ण सुरक्षा व्यवस्था हुन्छ, यद्यपि यो मुद्राको कुनै मालिक नभएका कारण ह्याकिङ हुनबाट पूर्णतः जोगाउन पनि कठिन छ ।
५. ट्रान्जेक्सनमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को बेफाइदा हो । भूलवश बढी भुक्तानी गरिएमा प्रयोगकर्ताले त्यसलाई फिर्ता गराउन सक्दैन, जसले ठूलो घाटा निम्त्याउन सक्छ ।
क्रिप्टोकरेन्सी वैध कि अवैध ?
कुनै नियामक निकायको नियन्त्रणमा नहुने क्रिप्टोकरेन्सी कानुनी रूपमा वैध छ वा अवैध ? यो धेरैको दिमागमा खेलिरहने प्रश्न हो । यसको उत्तर सापेक्षिक छ । यसको वैधताको निक्र्योल तपाईं कुन देशमा बसेर यसको प्रयोग गर्दै हुनुहुन्छ भन्नेले गर्छ ।
यसको वैधता प्रयोगस्थलमा निर्भर हुनुको कारण विश्वका सबै देशले यसलाई मान्यता नदिनु हो । केही देशमा अझै पनि क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन, जसमा नेपाल पनि एक हो । त्यस्तै, केही देशले यसलाई ‘ग्रे जोन’मा राखेका छन्, अर्थात् त्यहाँ यसलाई न औपचारिक रूपमा प्रतिबन्धित गरिएको छ, न त यसको प्रयोगलाई मान्यता नै दिइएको छ ।



