२०७३ कार्तिक ५ गते

बैंकिङ क्षेत्रमा भित्रिए करिव एकदर्जन प्रविधि

bankingअहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र तमसुके बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् । प्रविधिले यति सम्म गरेको छ कि स्वचालित ट्रेलर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिँदै छन् ।

बुँदागत रुपमा हेरौैँ बैंकिङ क्षेत्रमा भित्रिएका प्रविधिहरु
टेलि बैंकिङ सेवा : हिमालयन बैंक सुरुवात भएको वर्ष ताकै उस्ले टेलि बैंकिङ सेवाको सुरुवात गरेको थियो । फोनबाटै गरिने बैंकिङ कारोबार टेलि अर्थात टेलिफोन बैंकिङ हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ ।

एटिएम मेसिन : नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । वि.सं. २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । तर, छोटै अवधिमा पनि एटीएमले कमाएको लोकप्रियता भने चर्चायोग्य छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा ३५ हजार एटीएम प्रयोगकर्ता थपिएको तथ्यांक छ । गत आर्थिक वर्षको अन्त्यसम्मको तथ्यांक हेर्दा नेपालमा १८ सय ५९ वटा एटीएम काउन्टर छन् ।

क्रेडिट कार्ड : तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक क्रेडिट कार्ड भित्र्याएको हो । कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यसैले यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ ’ भन्ने चलन छ । क्रेडिक कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर, त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । 

डेबिट कार्ड : बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन)बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । यसको नामबाट पनि यो विषय स्पष्ट हुन्छ । बैंकमा रकम छैन भने यसबाट नगद झिक्न वा भुक्तानी दिने दुवै कार्य गर्न सकिन्न । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । 

इन्टरनेट बैंकिङ : टेलि बैंकिङ सेवाको सुरु भएको सात वर्षपछि इन्टरनेट बैंकिङ सुरु भएको थियो । इन्टरनेट बैंकिङ भित्राउने कुमारी बैंक पहिलो बन्न पुग्यो । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने) जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

मोबाइल/ट्यावलेट बैंकिङ : प्रविधिको द्रुतत्तर विकास संगै नेपालका बैंकहरुले विकसित अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा प्रयोग भएको ट्यावलेट बैंकिङ समेत प्रयोगमा ल्याइसकेका छन् । बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तीय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।

एसएमएस बैंकिङ : ०६१ सालबाट एसएमएस बैंकिङ सुरुवात भयो । यस्को सुरुवात लक्ष्मी बैंकले गर्यो । यो मोबाइल अर्थात ट्याबलेट बैंकिङकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत उनीहरुको खाताको बारेमा जानकारी दिने गर्दछन् । एसएमएस बैंकिङबाट पैसाको कारोबार (लेनदेन) पनि गर्न सकिन्छ ।

ब्रान्चलेस बैंकिङ : अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आएका छन् । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । यूके एडद्धारा प्रवद्र्धित सक्षम नेपालको सहयोगमा हाल नेपाली बैंकहरुले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आइरहेका छन् ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली : यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । 

यसरी, नेपाली बैंकहरुले एकपछि अर्को गर्दै प्रविधिहरु भित्र्याइरहेका छन् । यद्यपि, वित्तीय साक्षरताको कमीका कारण यसको प्रयोगमा भने खासै वृद्धि देखिएको छैन । त्यसो त अझैपनि २० लाख नेपाली बैंकिङ पहुँचबाट बाहिर रहेको बताइन्छ । बैंकिङ पहुँचमा रहेका र बैंकमा खाता भएकाहरुले पनि बैंकिङ प्रविधिको नाममा एटीएमभन्दा अरुको प्रयोग खासै गर्ने गरेका पाइँदन । अलि जान्नेहरुले मोबाइल बैंकिङको पनि प्रयोग गर्ने गरेका छन् । नेपालमा मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङका सफ्टवेयर निर्माण गरेर अधिकांश नेपाली बैंक र विदेशमा समेत सफ्टवेयर निर्यात गर्ने एफवान सफ्ट कम्पनीका अनुसार करिब ३२ लाख प्रयोगकर्ताले मोवाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् । यद्यपि, विश्वव्यापी रुपमा नै लोकप्रिय रहेका डेबिट कार्ड, क्रेडिट कार्ड जस्ता प्रविधिहरुको प्रयोगमा नेपालीहरुले खासै चासो देखाएको पाइँदैन । 

नेपालमा हाल अधिकांश वाणिज्य बैंकले इन्टरनेट बैंकिङको सुविधा दिएका छन् भने अधिकांश वाणिज्य बैंकले मोवाइल बैंकिङको सुविधा दिएका छन् । पछिल्लो समय वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्था पनि यस किसिमको सेवा दिनका लागि आकर्षित भइरहेका छन् । यद्यपि, प्रयोगकर्ता भने बढ्न सकेका छैन । वर्षेनि एटीएम प्रयोगकर्ताहरुको संख्या थपिँदा अन्य प्राविधिक बैंकिङका प्रयोगकर्ता बढ्न सकेका छैनन् । कतिपयलाई डेबिट कार्ड, क्रेटिड कार्ड, इन्टरनेट बैंकिङ, लगायतका प्रविधिहरुका बारेमा जानकारी नै छैन । बैंक तथा वित्तीय संस्थाहरु पनि यस्ता प्रविधिहरुको प्रयोगकर्ता बढाउन असमर्थ देखिएका छन् । यसका लागि पहिले वित्तीय चेतना अभिवृद्धि गर्नु जरुरीछ । मानिसहरुलाई बैंकिङ प्रविधिहरुका बारेमा जानकारी गराउनु जरुरी छ ।