
गौरब काफ्ले
कुनै पनि सर्वसाधारण व्यक्ति वा संघसंस्थाको रकम जम्मा गर्न, सुरक्षित राख्न, ब्याज आम्दानी गर्न, रकमको चुस्त दुरुस्त राख्न आदिका कारणले बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संघ संस्थाको नाममा विभिन्न किसिमका खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो ।
यो एक प्रकारको आर्थिक वा वित्तिय कारोबार विवरण हो । बैंकले सर्वसाधारण जनतासँग वा संस्थासँग निक्षेप (पैसा) लिँदा सोही व्यक्ति वा संस्थाको नाममा खाता खोल्दछ । खाता खोल्दा खाताको प्रकृति अनुसार अर्थात व्यक्तिगत खाता, संस्थागत खाता, नावालकको हकमा अन्य आवश्यक कागजातहरु पेश गर्नुपर्छ ।
र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खोलेपछि बचतकर्ता वा ग्राहकले रूपैयाँ जम्मा गर्ने भौचर, पास बुक र चेक बुक पाउँछन् । तर अहिले डिजिटल बंैकिङ प्रणालीले पासबुकको चल्ती कम हुँदै आएको छ । खातामा पैसा जम्मा गर्दा भौचर भरेर जम्मा गर्न दिइन्छ । बैंक वित्तीय संस्थाहरुले आवश्यकता अनुसार ग्राहकको निवेदन लिई बैंक स्टेटमेन्ट उपलब्ध गराउँछ ।
यसबाट आफ्नो कारोवार, पैसा जम्मा गरेको मिति, व्यक्ति खातामा रहेको कुल रकम, सो वापत आर्जित ब्याज, र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा सम्पुर्ण जानकारी मिल्दछ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम झिक्न सक्दछ ।
तर अहिले विभिन्न डिजिटल बैंकिङ प्रणाली जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, फोन पे, विभिन्न कम्पनीका बालेटहरुले गर्दा बैंकसम्म गएर लाइन बस्नु नपर्ने, छिटो छरितो सुविधा, जोखिमरहित सेवा, पारदर्शिता, सजिलै रकम घरमै बसेर पठाउन सकिने, बिल भुक्तानी सेवाहरु तथा आफनो विवरण सबै घरमा बसेर जानकारी लिन मिल्ने जस्ता सकारात्मक पक्षले बैंक खाताको आवश्यकता र यसको गरिमा झन् बढाएको छ । बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चलन चल्तीमा रहेका खाताहरु चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् ।
१.चल्ती खाता आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योगी, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।
२. बचत खाता बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्यतया साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । सर्वसाधारण व्यक्तिहरु माझ यस्तो खाता सर्वाधिक प्रचलनमा छ र लोकप्रिय समेत रहेको छ । पछिल्ला दिनहरुमा बचत खाताबाट झिक्न सकिने रकमको उच्चतम सीमा पनि बैंकहरुले क्रमिक रुपमा बढाउँदै लगेको पाइन्छ । विद्यार्थी, युवा, गृहणी, गृहस्थी, बूढाबूढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ । बंैक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्र, पेशा,उमेर समुह आदिलाई लक्षित गरी समय समयमा विभिन्न नामको बचत खाता ल्याएको हुन्छ ।
३. मुद्दती खाता मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । तर, सामान्यतया तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।
यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखेर बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ तर अन्य खातामा जस्तो तुरून्तै रकम झिक्न नमिल्ने हुँदा रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आपूmले मुद्दती निक्षेपमा पाउने ब्याज दर भन्दा केही प्रतिशत बढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।
बैंकमा व्यक्तिगत खाता खोल्नको लागि सामान्यतया नागरिकताको प्रमाणपत्र हालैसालै खिचेको फोटो, हकवालाको नागरिकताको प्रमाणपत्र तथा फोटो, पूर्ण रुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना, जस्ता विवरण आवश्यक पर्दछ ।
नाबालकको हकमा नाबालकको जन्मदर्ता, फोटो संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फारममा दस्तखत आवश्यक पर्छ । र नाबालक बालिग भएपछि वा १८ वर्ष पुगेपछि सम्पूर्ण आवश्यक कागजात पेश गरेर उसैको नाममा र उसैको हस्ताक्षरबाट खाता संचालन गर्ने गरी खाता खोलेर कारोबार समेत गर्न सकिन्छ ।
संघ संस्थागतको हकमा भने संस्थाको नियमावली, प्रबन्धपत्र, विधान, खाता संचालन गर्नेको नागरिकता, हालसालैको फोटो, स्टाम्प, सोही संघ संस्थाको लेटर हेडमा बैंक वा वित्तीय संस्थाको नाममा क–कसको हस्ताक्षरबाट खाता संचालन गर्ने भन्ने कुरा खुलेको पत्र तथा माइनट यसका साथै सम्बन्धित बैंक वित्तीय संस्थाले खाताको प्रकृतिअनुसार आवश्यक ठानेमा अन्य विवरण तथा कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेकोे नाम आम्दानी विवरण काम गरेको संस्थाको नाम ठेगाना जस्ता विवरण(केवाइसी) दिनुपर्ने व्यवस्था गरिएको छ ।
बैंक खाताको महत्व र आवश्यकता :–
- बचत गरी सुनौलो भविष्य निर्माणका लागि ।
- अनावश्यक खर्च नगरि बचत गर्ने बानी विकास हुन्छ ।
- बचत गरेर ब्याज प्राप्तिका लागि तथा बचतको सुरक्षण हुन्छ ।
- जोखिम रहित काराोबार र नगद तथा जिन्सीको सुरक्षाका लागि ।
- डिजिटल बैंकिङ अन्तर्गत आइपिएस, आरटिजिएस, एम बैंकिङ, एटिएम, के्रडिड कार्ड, जस्ता अत्यन्त महत्वपूर्ण सुविधा प्राप्तका लागि
- विप्रेषण सुविधा लिन सकिन्छ ।
- पारदर्शिता कारोबारका लागि ।
- अनलाइन भुक्तानि सुविधा प्राप्त लिन सकिन्छ ।
- सरकारी तथा अन्य सघ सस्थाको आर्थिक पाटो चुस्त दुरुस्त राखि आर्थिक हिनामिना हुन बाट रोक्न ।
- अन्तर्राष्ट्रिय व्यापारिक सघंसस्थाको विभिन्न किसिमका भुक्तानी छिटो, छरितो, पारदर्शिता हुने, कानूनी मान्यता समेत प्राप्त हुन्छ ।
- खाता खोलि बैंक चेकमार्फत भुक्तानीले कारोबार सफा र रेर्कड बस्ने हुँदा भोलिका दिनमा झमेलाबाट बचिने ।
- सरकारी सेवा सुविधाहरु लिनका बैंक खाताको अनिवार्यता ।
- ऋण तथा बीमा सुविधाका लागि ।
यस प्रकारले बैंक खाताको महत्व र आवश्यकता आजको दिनमा धेरै नै बढेको छ । त्यसैले ब्यापक रुपमा नेपालको दुरदराजसम्म बैंकिङ पहुँच पुर्याएर बैंक खाताको महत्व र आवश्यकताका बारेमा वित्तीय साक्षरता दिएर सबै नेपालीलाई खाता खोल्न अनुरोध गरी सम्पूर्ण आर्थिक गतिविधिहरु बैंकिङ्ग प्रणालीबाट गर्न अभिप्रेरित गर्नु पर्ने आजको आवश्यकता र अपरिहार्यता रहेको छ ।
(गौरब काफ्ले बैंकर्स हुनुहुन्छ ।)



