January 9th, 2023

सिबिफिनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

बैंकिङ खबर/ “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको देहायको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमिति

पवनकुमार गोल्यान (वाणिज्य बैंक) अध्यक्ष
भोजबहादुर शाह (वाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष
राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष
राजनसिंह भण्डारी (वाणिज्य बैंक) महासचिव
तुल्सीराम अग्रवाल (वाणिज्य बैंक) कोषाध्यक्ष
कुश प्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव
प्रचण्ड बहादुर श्रेष्ठ (वाणिज्य बैंक) सह कोषाध्यक्ष
उपेन्द्र केशरी न्यौपाने (वाणिज्य बैंक) सदस्य
उपेन्द्र प्रसाद पौडेल (वाणिज्य बैंक) सदस्य
लिला प्रकाश सिटौला (वाणिज्य बैंक) सदस्य
मोतिलाल दुगर (वाणिज्य बैंक) सदस्य
राधेस पन्त (वाणिज्य बैंक) सदस्य
महेन्द्र कुमार गोयल (विकास बैंक) सदस्य
भरतराज ढकाल (विकास बैंक) सदस्य
प्रो.हिरेन्द्र मान प्रधान (फाइनान्स कम्पनी) सदस्य

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा समुद्घाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ वानेश्वरस्थित द एभरेष्ट होटलमा सम्पन्न गरिएको थियो ।

सिबिफिनको उक्त साधारण सभाको समुद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य राख्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व बढाउने दिशामा अग्रसर हुन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट भएर लागि पर्न सबै पक्षहरुलाई सुझाव दिनुभयो ।

त्यसैगरी विशिष्ट अतिथिद्वय मन्त्री राजेन्द्र कुमार राई, वरिष्ठ अर्थविद् तथा पूर्व अर्थ मन्त्री डा. युवराज खतिवडा, विशेष अतिथि गभर्नर महाप्रसाद अधिकारीज्यूले शुभकामना मन्तव्य राख्दै मातहतका निकायहरुसँगको सहकार्यमा सिबिफिनले समग्र अर्थतन्त्रको सवलीकरणका लागि निर्वाह गर्दै आएको भूमिकालाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उक्त साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको अर्थमन्त्रीलगायतका महत्वपूर्ण ओहदाको सफलतापूर्वक नेतृत्व गरी राष्ट्रको अर्थतन्त्रलाई गतिशिल बनाउन अहम् भूमिका र योगदान पुर्याउनुभएका वरिष्ठ अर्थविद् डा. युवराज खतिवडालाई सिबिफिनले राष्टपतिज्यूमार्फत सम्मान समेत गरिएको थियो ।

समुद्घाटन समारोहमा राष्ट्रपति कार्यालयका विषयविज्ञ, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, डेप्यूटी गभर्नर, व्यवसायिक संस्थाका प्रतिनिधि, कुटनैतिक एवं दातृ निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संचारमाध्यमहरुको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]