December 26th, 2022

बैंकले चर्को ब्याज असुलेको भन्दै सडकमा उद्योगी व्यवसायी

बैंकिङ खबर/ बैंकको चर्को ब्याज र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को विरोधमा वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । उनीहरुले सोमबार वीरगन्जमा बिरोध जुलुस निकालेर आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक शाखाको मूल गेटमा प्रदर्शन गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाणिज्य संघले संयूक्त रुपमा विरोध जुलुस निकालेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघको प्रांगढमा सुरु भएको उद्योगी व्यवसायीको विरोध जुलुश वीरगन्ज परिक्रमा पछि राष्ट्र बैंक शाखा कार्यालयको मुल गेटमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले ब्याजदर ७ बाट १५ प्रतिशत पु¥याएर बैंकले निजी क्षेत्रको ढाड सेक्ने काम मात्र गरेको आरोप लगाए । सरकारको मौद्रिक नीतिले ५ देखि १० वर्षको अवधिमा चरणबद्ध रुपमा कार्यान्वयन गर्नुपर्ने विषयलाई एकै पटक लागू गरेर अन्याय गरेको बताए । देशव्यापी रुपमा प्रदर्शन चर्काउँदै जाने उनले चेतावनी दिए ।

मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुमार लाठले महँगी र बैंकको चर्को ब्याजदरले निजी क्षेत्रदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए । आफूहरुले अर्थमन्त्री, गर्भनर, प्रधानमन्त्रीदेखि सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुलाई गुहार्दा पनि पीडा कसैले नबुझेकाले सडक संघर्ष बाहेक अन्य विकल्प नरहेको बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व अध्यक्ष अशोक टेमानी, संघका बैंकिङ समितिका अध्यक्ष आशिष लाठ लगायतकाले सरकार र राष्ट्र बैंकको नीतिका कारण सडक संघर्ष गर्न बाध्य भएको बताए । वीरगन्ज उद्योग वाणिज्य संघले मंगलबार वीरगन्ज बजारका आदर्शनगर, माइस्थान लगायतका ठाउँहरुमा पसलहरुलाई झण्डा र कालोपट्टी वितरण गर्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]