Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘चालु पूँजी कर्जा मार्गदर्शन’ खारेजीको माग गर्दै प्रदर्शन

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका व्यवसायीले चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेजीको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको उक्त मार्गदर्शन खारेज गर्नुपर्ने माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर, करदाताको रक्षा गर, बैंकको ब्याजदर र सेवा शुल्क घटाऊ, गरिखान देऊ जस्ता नारा लेखिएको प्ले कार्ड र ब्यानर बोकेर उनीहरुले सिमरा चोकमा प्रदर्शन गरेका हुन् ।

उद्योगी तथा व्यवसायी आवद्ध संघसंस्थाका प्रतिनीधि मार्गदर्शन खारेजीको माग सहित कालोपट्टी लगाएर प्रदर्शनमा सहभागी भएका थिए ।
प्रदर्शनमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, जीतपुरसिमरा चेम्बर अफ कमर्स, होटल तथा पर्यटन व्यवसायी संघ बारा, यातायात व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, बारा जग्गा तथा आवास विकास संघ लगायतका प्रतिनिधि सहभागी थिए ।

उनीहरुले चालु पूँजी मार्गदर्शनले गर्दा व्यावसायिक वातावरण बिग्रेकोले खारेज गर्नुपर्नेमा जोड दिएका छन् । चालु पूँजी कर्जा मार्गदर्शनमा भएका विभिन्न व्यवस्थाका कारण व्यापार व्यवसाय झन् धरासायी बनिरहेको र मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुग्ने उद्योगी व्यवसायीको तर्क छ । मुलुकको अर्थतन्त्र उकास्न र उद्योग तथा व्यवसाय धरासायी हुन नदिन मार्गदर्शन तत्कालका लागि खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ ।

जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले चालु पूँजी कर्जा मार्गदर्शनका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था बनिरहेको बताए ।