December 12th, 2022

बैंकिङ क्षेत्रमा उत्तरदायी बैंकिङको अवधारणा

रोशन पोखरेल
प्रबन्धक
नेपाल बैंक लिमिटेड

१.सैद्धान्तिक अवधारणा 

-Theoretical Concept_ “When I is replaced by we, even illness becomes wellness”
-Anonymous

कुनै पनि उद्योगधन्दा, व्यवसाय वा संस्थाको मूल मर्म तथा विराट् उद्देश्य (Macro Objective) मानव कल्याण तथा सार्वजनिक हितसँग जोडिएको हुनुपर्छ ।संस्थागत गतिविधिको तार प्रत्यक्ष एवं परोक्ष रूपमा समाज, पर्यावरण र प्रकृतिसँग जोडिएर रहेको हुन्छ, संस्था शून्यमा सञ्चालन हुन सक्दैन भन्ने मान्यता उत्तरदायी सञ्चालनले राख्दछ ।

बैंक तथा वित्तीय संस्थाहरू पनि सामाजिक हितकै लागि स्थापित भएका हुन् र यी संस्थाहरूले सञ्चालन गर्ने बैंकिङ गतिविधि समाजप्रति उत्तरदायी रहनुपर्दछ भन्ने मान्यता उत्तरदायी बैंकिङको सामान्य अवधारणा (General Concept) हो । हुन त आम बुझाइमा बैंक  तथा वित्तीय संस्थाहरू नाफा कमाउन स्थापित भएका हुन् र यिनले मुद्रा बजारमा संवाहकका रूपमा कार्य गर्दछन् भनिए तापनि मानव समाजका लागि बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिको जीवनस्तर सुधार्न प्रयासरत संस्थाहरु हुन् ।

यिनले गर्ने बैंकिङ गतिविधिमार्फत देशको समग्र अर्थतन्त्र चलायमान भई नागरिकले आर्थिक सामाजिक सुरक्षाको लाभ प्राप्त गर्दछन् जसबाट एक स्वच्छ र स्वस्थ समाजको निर्माण भइरहेको हुन्छ । हुन त व्यावसायिक इकाइहरूको मुनाफामा बढोत्तरी ल्याई अंशियारका हितको संरक्षण गर्नु वित्तीय व्यवस्थापनको स्थापित मान्यता हो, तथापि पछिल्ला समयमा आएर यस मान्यतामाथि पुनर्विचार हुनुपर्ने तर्कले स्थान पाएको देख्न सकिन्छ । कुनै पनि व्यावसायिक प्रतिष्ठानको काम कारबाहीबाट समाज, समुदाय तथा वातावरणमाथि कुनै न कुनै स्वरुपको सम्भावित क्षतिको जोखिम रहेको हुन्छ भन्ने तथ्यलाई यसै नजरअन्दाज गर्न पनि सकिन्न ।

व्यावसायिक प्रतिष्ठानले गरेका गतिविधिबाट समाज, समुदाय वा वातावरणले मूल्य चुकाउनुपर्ने तथ्य कुनै पनि कोणबाट न्यायसङ्गत देखिन्न पनि । अतः यस्तो सम्भावित क्षतिलाई समयमै आँकलन गरी यथोचित व्यवस्थापनका लागि पर्याप्त ध्यान दिनु बैंक तथा वित्तीय संस्था स्वयंको कर्तव्य हो । उत्तरदायी बैंकिङले यसै अवधारणालाई आत्मसात् गरेको पाइन्छ । 

हरित बैंकिङ (Green Banking) तथा दिगो बैंकिङ (Sustainable Banking) लाई उत्तरदायी बैंकिङका उदाहरणका रूपमा लिन सकिन्छ । अल्पकालका लागि समाज, समुदाय तथा वातावरणप्रति उत्तरदायी रहनु र नाफा कमाउनु द्वन्द्वात्मक लागे तापनि दीर्घकालसम्म व्यवसाय गर्ने सोच भएका प्रतिष्ठानका लागि यस अवधारणालाई आत्मसात् गर्नु सम्पूर्ण पक्षबाट हितकारी हुनेमा शङ्का रहँदैन । यहाँ फोर्ड मोटर कम्पनीका कार्यकारी अध्यक्ष विलियम
फोर्डको भनाइ उल्लेख गर्नु सान्दर्भिक हुन जान्छ :

“Creating a strong business & building a better world are not conflicting goals – they are both essential ingredients for long term success” -William Clay Ford

२. उत्तरदायी बैंकिङका सिद्धान्तहरू (Principles of Responsible Banking)

उत्तरदायी बैंकिङका मूलतः ६ सिद्धान्तहरू रहेका पाइन्छन् । मूलभूत रूपमा यिनै सिद्धान्तहरूबाट उत्तरदायी बैंकिङ सञ्चालित तथा निर्देशित रहेको पाइन्छ । यी सिद्धान्तहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो रणनीतिक योजना तथा कार्यविवरणहरूमा उल्लेख गरी आत्मसात् गर्ने गरेका छन् ।

क.तादाम्य (Alignment)

संस्थाको रणनीतिक योजनालाई व्यक्तिको आवश्यकता तथा समाजको लक्ष्यसँग तादाम्य हुने गरी उल्लेख गर्ने विषयमा उत्तरदायी बैंकिङको यस सिद्धान्तले
संस्थालाई निर्देशित गर्दछ । संस्थाको रणनीतिक योजना तथा कार्यक्रमलाई पेरिस वातावरण सम्झौता (Peris Climate Agreement) तथा राष्ट्रिय वा क्षेत्रीय नीतिसँग तादाम्य हुने गरी घोषित गरिएको हुन्छ ।

ख. असर तथा लक्ष्य निर्धारण (Impact & Target Setting)

संस्थाले आवधिक रूपमा संस्थाका गतिविधि, सेवा तथा लगानीले समाज, समुदाय तथा वातावरणमा पार्ने खराब असरलाई कम गर्ने तथा असल असरलाई
बढाउँदै लाने नीति लिएको हुन्छ ।

ग. सेवाग्राही तथा ग्राहक (Clients & Customers)

ग्राहक तथा सेवाग्राहीसँग कारोबार गर्दा उत्तरदायी तबरले दिगो विकासलाई आत्मसात् गरी कार्य गर्ने सिद्धान्त सेवाग्राही तथा ग्राहक सिद्धान्त हो । आर्थिक
लाभको न्यायोचित वितरण तथा वर्तमानमा गरिएको कुनै पनि निर्णयको असर भावी पिढीलाई नपरोस् भन्ने कुरासँग सजग रहन यस सिद्धान्तले निर्देशित गर्दछ ।

घ. सरोकारवाला (Stakeholders) 

सरोकारवालासँग सक्रिय (proactively) समन्वय तथा परामर्श गर्दै सामुदायिक लाभका क्षेत्रमा बैंकिङ सेवालाई गतिशील गर्ने सम्बन्धी सिद्धान्त ।

ङ. सुशासन तथा संस्थागत परम्परा (Governace & Culture)

उत्तरदायी बैंकिङलाई संस्थाको संस्थागत संस्कृति (Corporate Culture) का रूपमा स्थापित तथा विकसित गर्दै लैजाने सम्बन्धी सिद्धान्त । यसले संस्थागत सुशासनको पक्षपोषण गर्दछ ।

च. पारदर्शिता एवं जवाफदेहिता(Transparancy & Accountablity)

संस्थागत पारदर्शिता तथा समाज, समुदाय र वातावरणप्रति जवाफदेही संस्कारको विकास गर्दै संस्थाका काम कारवाहीले समग्रमा पारेका सकारात्मक
तथा नकारात्मक प्रभावको नियमित आवधिक मापन गर्ने सम्बन्धी सिद्धान्त पारदर्शिता एवं जवाफदेहिताको सिद्धान्त हो । बैंक तथा वित्तीय संस्थाहरूले पनि अन्य व्यावसायिक संस्थासरह लगानी वा संस्थागत निर्णय गर्दा वातावरणीय (Environmental), सामाजिक (Social) तथा सुशासन (Governance)अर्थात ESG पक्षलाई पुग्दो ध्यान दिनुपर्दछ भन्ने विश्वव्यापी मान्यता रहेको छ ।

वर्तमानमा गरिएको कुनै पनि निर्णयले भावी पुस्तामाथि कुनै पनि व्ययभारका रूपमा देखा नपरोस् भन्ने कुरातर्फ सजग र संवेदनशील रही सेवा सञ्चालन गर्नुपर्दछ भन्ने कुरामा उत्तरदायी बैंकिङले जोड दिन्छ ।

३. दिगो बैंकिङ तथा वित्तीय सञ्जाल (Sustainable Banking & Finance Network)

वित्तीय क्षेत्रले जलवायु परिवर्तन, प्रदूषण, प्राकृतिक सम्पदाको अति दोहनजस्ता पर्यावरणीय तथा व्यावसायिक चुनौतीहरूको सामना गरिरहनुपरेको हालको अवस्थामा विकासशील राष्ट्रहरूमा निजी क्षेत्रका वित्तीय संस्थाहरूले लगानी गर्ने परियोजनाहरूबाट उत्पन्न हुने कमजोर वातावरणीय, सामाजिक एवं सुशासनसम्बन्धी समस्याहरू समयसँगै झनै विकराल बन्दै जाने निश्चित छ ।

वातावरण र समाजप्रति गैरजिम्मेवार ढङ्गले एकोहोरो मुनाफालाई मात्र ध्यानमा राख्दा ढिलोचाँडो त्यसको वातावरणीयलगायत व्यावसायिक असर वित्तीय क्षेत्रले भोग्नु नै पर्नेछ । दिगो बैंकिङमा वातावरणीय रूपमा जिम्मेवार मात्र होइन सामाजिक रूपले समेत सान्दर्भिक हुने छुट्टै सिद्धान्तहरू तय गरी वित्तीय क्षेत्रमा कार्यान्वयनमा ल्याउने गरिन्छ । उत्तरदायी दिगो बैंकिङलाई आत्मसात् गर्ने तथा अन्तर्राष्ट्रिय रूपमा भए गरेका असल अभ्यास (Best Practices) लाई संस्थागत गर्ने अभिप्रायले गठन गरिएको अनौपचारिक विशेष समूह दिगो बैंकिङ सञ्जाल हो ।

यसमा उत्तरदायी तबरले समग्रमा वातावरणीय, सामाजिक तथा सुशासन पक्षलाई ध्यानमा राख्दै दिगो वित्तीय लगानीमा जोड दिन प्रतिबद्ध वित्तीय क्षेत्र, नियामक निकाय, वातावरणसम्बन्धी कार्य गर्ने संघसंस्था, केन्द्रीय बैंक तथा बैंकिङ संघ संगठनहरू सदस्यका रूपमा रहेका छन् । अन्तर्राष्ट्रिय वित्त निगम (International Finance Corporation) तथा विश्व बैंक समूह (World Bank Group) ले यसलाई आवश्यक सहयोग तथा समन्वय गरिरहेको पाइन्छ ।
यस सञ्जालको मूल उद्देश्य सदस्यहरू बिच सामूहिक ज्ञान आदानप्रदान तथा उपयुक्त नीति तर्जुमामार्फत दिगो वित्तका लागि सहजकर्ताको भूमिका निभाउने हो ।

यसले सहजकर्ताको भूमिका बाहेक सदस्यहरूलाई आवश्यक सहयोग तथा प्रोत्साहन गर्ने समेत गर्दछ । सदस्यहरूको मुख्य ध्येय यसले लिएका निम्न दुई मूल उद्देश्यसँग सरोकार राख्दछन् :

क. पर्यावरणीय जोखिमसहित ESG जोखिमको वित्तीय क्षेत्रबाट हुने जोखिम व्यवस्थापन ।

Improve the management of environmental, social, and governance (ESG) risks – including climate risks – across the
financial sector.

ख. समाज तथा वातावरणमा सकारात्मक प्रभाव पार्ने  परियोजनाहरूमा लगानी प्रोत्साहन Increase capital flows to activities with positive environmental and social impacts, including climate change mitigation and adaptation.

हालसम्म यस समूहमा हाम्रा छिमेकी मुलुक भारत, चीन, पाकिस्तान, श्रीलङ्का तथा बङ्गलादेशसहित ६२ राष्ट्रका ७२ संघसंस्थाहरू आबद्ध रहेका छन् । यसले ४३ ट्रिलियन डलरको बैंकिङ सम्पत्तिको निगरानी गर्दछ । यसले भर्खरै आफ्नो स्थापनाको दसौँं वार्षिकी मनाएको छ ।

४. उत्तरदायी – दिगो बैंकिङमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका (Role of Banks & FIs in sustainable Banking)

बैंक तथा वित्तीय संस्थाहरूले लगानीसँग सम्बन्धित निर्णय लिँदा मूलतः लगानीको सुनिश्चितता, प्रतिफल तथा जोखिमलाई ध्यानमा राखी निर्णय लिने गर्दछन् । समान जोखिममा अधिक प्रतिफल र समान प्रतिफलमा कम जोखिमयुक्त लगानी बैंक वित्तीय संस्थाको प्राथमिकतामा पर्ने वित्तीय लगानीको आधारभूत सिद्धान्त हो । तर दिगो बैंकिङको अवधारणामा लगानीसम्बन्धी निर्णय लिँदा बैंक तथा वित्तीय संस्थाहरूले वातावरणीय, सामाजिक तथा सुशासनको पक्षलाई समेत प्राथमिकतामा राखेर मात्र निर्णय लिनुपर्ने हुन्छ ।

यस परिप्रेक्ष्यमा हाम्रो छिमेकी मुलुक बङ्गलादेशले सन् २०११ मा नै वातावरणीय जोखिम व्यवस्थापन मार्गदर्शन (Environmental Risk Management Guidelines)  पारित गरेको पाइन्छ । त्यसैगरी पाकिस्तानले सन् २०१७ मा दिगो बैंकिङ तथा वित्त नीति तय गरेको पाइन्छ । वित्तीय मध्यस्थताको कार्य गर्ने बैंक तथा वित्तीय संस्थाहरूले मानवसमाजको हितका लागि समुदायलाई लाभ हुने, वातावरण जगेर्नामा सघाउ पुग्ने तथा सुशासनमा बढोत्तरी हुने परियोजनामा लगानी गर्दा समग्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यावरणीय सन्तुलन कायम रहने हुन्छ ।

अल्पकालमा बढी मुनाफा हुने तर दीर्घकालीन रूपमा राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनमा खलल पुग्ने परियोजनामा लगानी गर्दा अल्पकालीन रूपमा फाइदा पुगेको देखिए तापनि दीर्घकालमा त्यसको नकारात्मक असरको भुक्तभोगी व्यवसायी र वित्तीय संस्था मात्र हँुदैनन् पूरै मानवसमाजले नै त्यसको ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । समाजकै अङ्गका रूपमा क्रियाशील बैंक तथा वित्तीय संस्थाले कुनै पनि हालतमा सामाजिक जवाफदेहिताबाट उम्कन मिल्दैन ।

समाजमा पर्ने असरबाट बैंकिङ क्षेत्रमात्र नभई समग्र अर्थतन्त्रलाई नै कस्तो असर पर्दो रहेछ भन्ने शिक्षा हालैको कोभिड महामारीले पनि दिएको छ । एकोहोरो मुनाफालाई मात्र प्राथमिकतामा राखी सामाजिक दायित्वलाई बेवास्ता गर्ने हो भने त्यसले दूरगामी पर्यावरणीय क्षति मात्र होइन आर्थिक विभीषिकासमेत निम्त्याउन सक्नेतर्फ बेलैमा सजग हुनु जरुरी छ ।

५. उत्तरदायी दिगो बैंकिङका प्रक्रिया (process of sustainable banking)

दिगो बैंकिङ कार्यान्वयनका लागि केही निश्चित प्रक्रियाहरू तय गरिएको पाइन्छ । क्रमबद्ध रूपले यस्ता चरणहरू पार गरेर मात्र उत्तरदायी दिगो बैंकिङको अवधारणा साकार गर्न सकिन्छ ।
क. पहिलो चरणः उत्तरदायी दिगो बैंकिङप्रतिको प्रतिबद्धता
ख. दोस्रो चरणः उत्तरदायी दिगो बैंकिङ अवधारणाको
विकास
ग. तेस्रो चरणः उत्तरदायी दिगो बैंकिङ प्रणालीको विकास
घ. चौथो चरणः उत्तरदायी दिगो बैंकिङसम्बन्धी क्षमतामा
अभिवृद्धि
ङ. पाँचौँ चरणः उत्तरदायी दिगो बैंकिङको कार्यान्वयन
छ. छैटौँ चरणः अभिप्रेरणा तथा रिपोर्टिङ

६. बैंक तथा वित्तीय संस्थालाई पुग्ने फाइदा(Benefits to Bank & FIs)

उत्तरदायी दिगो बैंकिङबाट कुनै पनि बैंक वा वित्तीय संस्थालाई अल्पकालीन तथा दीर्घकालीन दुवै किसिमका फाइदा पुग्ने देखिन्छ । दीर्घकालमा समग्र आर्थिक सामाजिक स्थायित्वबाट प्राप्त हुने लाभबाहेक संस्थाले अल्पकालमा पनि यथेष्ट लाभ प्राप्त गर्ने देखिएको छ ।

-वातावरणीय र सामाजिक जोखिमको समुचित व्यवस्थापन गर्न नसक्दाका अवस्थामा आइपर्ने वित्तीय, कानुनी तथा प्रतिष्ठासम्बन्धी जोखिमको न्यूनीकरण हुने ।

लगानी गर्दा ग्राहकको समग्र पक्षको अध्ययन हुने भएकाले लगानीमा निहित जोखिम कम हुने ।
– ग्राहक वा ऋणीले पालना गर्नुपर्ने राष्ट्रिय तथा
अन्र्तराष्ट्रिय अनुपालनासम्बन्धी अध्ययनमा सहजता
प्राप्त हुने तथा यसका अभावमा निम्तिन सक्ने
जोखिमलाई समय छँदै सच्याउन सकिने ।
-भविष्यमा आइपर्ने सामाजिक, आर्थिक र पर्यावरणीय
असरको मूल्याङ्कन गरी व्यावसायिक योजना तथा
रणनीति तर्जुमा गर्न सहज हुने ।
– लगानीका क्षेत्रमा विविधीकरण तथा नयाँ लगानीका
क्षेत्रको पहिचान सरल हुने ।
– संस्थाको सामाजिक ख्याति तथा प्रतिष्ठामा वृद्धि भई
संस्थागत छविमा सुधार आउने ।
– संस्थागत ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा
स्थापित गर्न सहज हुने । जनविश्वासमा सकारात्मक
वृद्धि हुने ।
-अन्तर्राष्ट्रिय प्राविधिक एवम् व्यावसायिक सहयोग
प्राप्त गर्न सहज र सरल हुने ।
– छुट सुविधा वा हितकारी लाभ प्राप्त गर्ने सम्भावनामा
वृद्धि हुने ।
– दीर्घकालीन व्यावसायिक सम्बन्धको सुनिश्चितता
प्राप्त हुने ।

७. दिगो बैंकिङ : नेपालका सन्दर्भमा (Sustainbale Banking in Nepal)

नेपालका सन्दर्भमा आ.व. २०७४।०७५ को मौद्रिक नीतिमा जोखिम व्यवस्थापन पद्धतिका सम्बन्धमा वातावरण तथा सामाजिक जोखिम व्यस्थापनसम्बन्धी निर्देशिका जारी गरिनेछ भनी उल्लेख भएको पाइन्छ । सोसँग सम्बन्धित एक निर्देशिका नेपाल राष्ट्र बैंकले २०७५।०७६ मा जारी गरेको भए तापनि सोको यथेष्ट चर्चा परिचर्चा बैंकिङ जगत्मा भएको भने पाइन्न । त्यसै पनि सो निर्देशिका दिगो बैंकिङलाई आत्मसात् गर्ने भन्दा पनि जोखिम व्यवस्थापनलाई सम्बोधन गर्ने गरी जारी भएको पो हो कि भने जस्तो देखिन्छ ।

निजी क्षेत्रका केही छिटपुट बैंकले हरित हप्ता (Green Week) भनेर केही कार्यक्रम गर्नु,ETS (Emission Trading System) मा समावेश हुनुलाई यसको सुरुवाती चरणका रूपमा लिन सकिन्छ । विश्व जगत्मा उत्तरदायी दिगो विकासका लागि भए गरेका असल अभ्यासहरूको माटो सुहाँउदो अनुसरण गरी नेपाली बैंकिङ जगत् पनि समयसँग अघि बढ्न ढिला गर्नु हुन्न । त्यसै पनि अन्तर्राष्ट्रिय रूपमा बैंक तथा वित्तीय संस्थाहरू युएनले लिएको दिगो विकासको लक्ष्य (SDGs) मा प्रमुख शक्तिका रूपमा देखा परिसकेका छन् । लगानीकर्ता, ग्राहक, कर्मचारीलगायत नियमन निकायहरूसमेतले बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकासका मुद्दामा संवेदनशील हुन दबाब सृजना गर्न थालेका अवस्थामा ढिलो चाँडो त्यस किसिमको दबाब नेपाली वित्तीय जगत्ले पनि सामना गर्नु नै पर्नेछ ।

विगतको ३० वर्षको विवरणलाई हेर्ने हो भने बैंक कर्जामा २० प्रतिशत बढोत्तरी हुँदा नेपाली अर्थतन्त्रको विस्तार भने जम्मा ४.५ प्रतिशतमात्र भएको पाइन्छ । यसको सोझो अर्थ हो नेपाली बैंक तथा वित्तीय संस्थाले समग्र राष्ट्रको अर्थतन्त्रलाई सबलीकरण गर्न सकेका छैनन् । अर्थतन्त्र र समुदायलाई लाभान्वित गर्ननसकेको तीतो यथार्थ नेपाली बैंकिङ जगत्ले स्वीकार्नैपर्छ । आगामी समयमा नेपाली बैंक तथा वित्तीय संस्थाहरूले दिगो वित्तीय लगानी(Sustainbale Finance)उत्तरदायी व्यवस्थापन(Responsible Man agement) र समावेशी समुदाय (Inclusive Community) का तीन खम्बे नीति अँगाल्दै दिगो बैंकिङका दिशातर्फ अगाडि बढे मात्र मुलुक र समाजले स्थायी लाभ प्राप्त गर्नेछन् ।

८. निष्कर्ष (Conclusion)

“Sustainable banking isn’t just a philosophy – it’s about action.”

उत्तरदायी दिगो बैंकिङ कुनै दर्शन होइन, न त यो कुनै ऐच्छिक अवधारणा हो जसलाई आत्मसात् गरे पनि हुन्छ नगरे पनि हुन्छ । वास्तवमा यो ढिलो भइसकेको अनिवार्य आवश्यकता हो । समतामूलक समाज, दरिलो अर्थतन्त्र, बाँच्नलायक पर्यावरण तथा भावी सन्ततिको भविष्य रक्षाका लागि आजको बैंकिङ समाज, वातावरण तथा सुशासनप्रति उत्तरदायी हुनुको विकल्प छैन जसले दिगो विकासको एजेन्डालाई स्थापित गर्न सकोस् ।

(हामीले यो लेख नेपाल बैंकको वार्षिकोत्सव विशेषांक २०७९ बाट लिएका हौँ ।)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]