November 24th, 2022

काठमाडौं महानगरमा खुल्यो कित्ताकाट

बैंकिङ खबर/ काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिका भित्र भू–उपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ ।

भू–उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । बुधबार महानगरका मेयर बालेन्द्र (बालेन) साहको अध्यक्षता भू–उपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।

बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषि योग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा परिषद्‍का सदस्य एवं कार्यपालिका सदस्यहरु सहभागी थिए ।

निर्णयपछि बोल्दै बालेनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख साहले, काठमाडौं महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको बताउनुभयो ।

यसअघि २ कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्यसचिव रहने गरी भू–उपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]