Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकः शाखारहित बैंकिङ सेवा लिँदा यी कुरामा ध्यान दिनुहोस्

२०७९ मंसिर २ गते

बैंकिङ खबर/ बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्‍याउनका लागि ल्याइएको एक अवधारणालाई नै शाखारहित बैंकिङ सेवा हो । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् ।

तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखारहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ ।

बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा भुकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको थियो ।

यस्तो बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ । एउटा बैंकले शाखा विस्तार गर्नको लागि करीब ४० लाख रुपैयाँ भवन निर्माणमा खर्च गर्नुपर्ने हुन्छ तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । यसरी नेपाल सहजरुपमा शाखारहित बैंकिङ सेवा दिने बैंकहरुमध्ये अग्रणी स्थानमा एन आइसी एशिया बैंकलाई लिन सकिन्छ । जसले देशका ग्रामिण क्षेत्रमा पुगेर शाखारहित सेवा दिँदै आएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक छ । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यसरी हरेक तर्फबाट उत्कृष्ठ रहेको यस बैंकले शाखा रहित सेवा प्रयोग गर्दा सर्वसाधरणका लागि विभिन्न कुराहरुमा ध्यान दिन आग्रह गरिएको छ । जसलाई तल प्रस्तुत गरिएको छ ।

शाखारहित बैंकिङ सेवा लिँदा यी कुरामा ध्यान दिनुहोस्

१.शाखारहित बैंकिङ सेवा प्रयोग गर्ने हरेक ग्राहकले आफ्नो औंठा छाप प्रयोग पश्चात् मात्रै बैंकिङ कारोवार गर्न सक्नेछन् ।
२.कारोबार गर्ने क्रममा मेशिनबाट सुनिने निर्देशनात्मक आवाजले ग्राहकलाई हुन गइरहेको कारोबार र कारोबारको रकम तथा अन्त्यमा कारोबार सफल भए नभएको जानरी गराउनेछ ।
३.मेशिनले हरेक कारोबार सम्पन्न भएपछि कारोबारको विवरण सम्बन्धी लिलिखत पर्चामा प्रिन्ट गरी उपलब्ध गराउँदछ । ग्राहकले आफ्नो रकमको सुरक्षा र कारोबार सफल भएको जानकारी पाउनको लागि अनिवार्य रुपमा उक्त पर्चा कारोबारको प्रमाण स्वरुप लिनुपर्नेछ ।
४.बैंक सम्बन्धी सम्पूर्ण जानकारी तोकिएका व्यवसायिक प्रतिनिधिको माध्यमबाट प्राप्त गर्न सकिनेछ । विस्तृत जानकारीको लागि एन आई सी एशिया बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।
५. कारोबार सम्बन्धी सम्पूर्ण जानकारी ग्राहकको रजिष्र्टड मोबाइल नम्बरमा एसएमएस मार्फत प्राप्त नभएमा ग्राहकले मेशिनबाट आफ्नो खाताको विवरण हेरी कारोबार भए÷नभएको एकिन गर्नुपर्नेछ ।