
बैंकिङ खबर/ सर्लाहीको हरिवनका व्यापारीहरुले बैंकको व्याजदर वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । बैंकहरुले अनधिकृत रुपमा ब्याज बढाएपछि चेम्बर अफ कमर्स हरिवन नगर समितिले विरोध प्रदर्शन गरेको हो ।
कोरोनाले करिब २ वर्ष थलिएको व्यापार व्यवसायमाथि बैंकहरुले ब्याज बढाएर थप ढाड सेक्ने काम गरेको चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए ।
बैंकहरुले अनाधिकृत रुपमा ब्याज बढाए पछि व्यापार व्यावसाय गर्नेहरु निकै मारमा परेका र अहिलेको अवस्था जारी रहे व्यापारी, व्यवसायीहरुले राष्ट्र बैंकलाई तालाचावी बुझाउनु पर्ने अवस्था आउने उनले बताए ।
चेम्बर अफ कमर्स हरिवन नगर समितिको आयोजनामा हरिवन नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्गमा बैंकको ब्याजदर बढाएको भन्दै ’विरोध ¥याली’ लेखिएको ब्यानरसहित बजार परिक्रमा गरिएको चेम्बर अफ कमर्स हरिवन नगर कमिटीका अध्यक्ष कृष्ण ओम पोतेले बताए ।




