
बैंकिङ खबर/भुक्तानी प्रणाली सञ्चालक फोनपेका क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । कारोबारलाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा व्यवसायीको आकर्षण बढ्दै गएको छ । फोनपे नेटवर्कमार्फत् हाल दैनिक ४ अर्ब बढीको कारोबार हुने गरेको कम्पनीले दाबी गरेको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले नगद कारोबारलाई कमी गर्दै डिजिटल रफ्तार दिन प्रयासरत रहिरहने प्रतिबद्धता जनाउनुभयाे । उहाँले भन्नुभयाे ‘अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ ।’ आगामी दिनमा डिजिटल कारोबारलाई बढवा दिन मर्चेन्ट र ग्राहकलाई थप परिष्कृत सेवा दिँदै जाने उहाँले बताउनुभयाे ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत् फोनपेले सेवा पुर्याउँदै आएको छ ।



