Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘तरलता अभाव, उच्च ब्याज र राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीको आत्मविश्वास घट्यो’

२०७९ कार्तिक १८ गते

बैंकिङ खबर/ नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले तरलता अभाव, उच्च ब्याज र राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीको आत्मविश्वास घटेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । भेटमा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भएको थियो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिनुभयो । एकै पटक सबै सुधारका उपकरणहरु लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताउनुभयो । उहाँले विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको बताउनुभयो ।