October 30th, 2022

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब पुग्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब १४ अर्ब रुपैयाँले धेरै हो ।

यस अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ४१ अर्ब ८२ करोडमा झरेको छ । पहिलो तीन महिनमा आयात १६.२० प्रतिशतले घट्दा निर्यात भने ३५.७१ प्रतिशत र व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।

चाडपर्व लक्षित आयात वृद्धिका कारण एक महिनामै कुल वैदेशिक व्यापारको आकार एक खर्ब ४० अर्बले बढेको विभागले जनाएको छ । भदौमा नेपालको कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब रुपैयाँ थियो । असोजमा यस्तो आकार करिब ४ खर्ब ४३ अर्ब रह्यो । भदौको तुलनामा असोजमा आयात एक खर्ब २७ अर्बले बढ्यो भने निर्यात १३ अर्ब १४ करोडले बढेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]