बैंकिङ खबर/ पछिल्लो समय वित्तीय अपराध झन्– झन् मौलाउँदै गएको छ । ठाउँ–ठाउँमा नक्कली नोटका गिरोहहरु सल्बलाइरहेका छन् । दुःख गरेर पैसा कमाउनुभन्दा नक्कली नोटको कारोबार गरी सुखसयलको जीवन बिताउने मोहले धेरैलाई वित्तीय अपराधी बनाइरहेको छ ।
नक्कली नोटको कारोबार
हालै मात्र नक्कली नेपाली नोट कारोबारमा संलग्न रहेको आरोपमा बाराबाट तीन जना पक्राउ परेका छन् । बारा प्रहरीले नक्कली नोटसहित भारत मोतिहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नं १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नं २ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरेको हो ।
बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुरस्थित एसपी साईन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए । उनीहरु लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउने गिरोह नै रहेको प्रहरीले बताएको छ ।
पछिल्लो समय भारतमा नक्कली नोट छपाएर नेपालमा तस्करी गर्ने गिरोह पनि सक्रिय भइरहेको देखिन्छ । नक्कली नोटको कारोबार रोक्न नसकिए यसले मुलुकको मुद्रामा असर पु¥याउँछ । राष्ट्र बैंक र अनुसन्धान गर्ने निकाय पनि यो विषयमा गम्भीर भएर लागेको देखिँदैन ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार १ लाख नक्कली नोट नेपालमा पठाउँदा गिरोहले ३३ हजार रुपैयाँ लिने गरेको छ । गिरोहले ५ लाख नक्कली नोट दिएबापत ३३ प्रतिशत सक्कली नोट लिएर थप २ लाख नक्कली सित्तैमा दिने गरेको पनि स्रोत बताउँछ । पछिल्लो पटक बाराबाट ९ लाख नक्कली नोटसहित पक्राउ परेका तीन जनाले भारतमा रहेको गिरोहलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २५६ मा नक्कली नोटको कारोबार तथा ओसारपसार गर्नेविरुद्ध ‘खोटा मुद्रा’ को कसुरमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । नक्कली नोट तथा खोटो सिक्कासम्बन्धी विनियमावली २०७७ ले पनि यस्तो अपराधमा संलग्नलाई मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने भनेको छ तर राष्ट्र बैंक, प्रहरी र सशस्त्रले यो अपराध नियन्त्रण गर्न संयुक्त अभियान चलाएका छैनन् । सक्कली र नक्कली नोटबारे आमनागरिकले कसरी पत्ता लगाउने भन्ने जानकारी राष्ट्र बैंकले देशभर अभियानकै रूपमा चलाउन सक्छ । त्यसलाई कार्यान्वयन गरेर सीमा क्षेत्रका नागरिकलाई अझ सुसूचित गराउन सुरक्षा निकायले आफ्नो संयन्त्र परिचालन गर्न सक्छन् ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई नेपाली नक्कली नोट कारोबार बढ्दै गएकाले त्यसलाई बेलैमा नियन्त्रण गर्न नसके स्थिति भयावह हुने बताउँछन् । पछिल्ला केही वर्षयता बरामद नक्कली नोटको कागज र छाप्ने मेसिन पनि गुणस्तरीय देखिएकाले यो समस्या विकराल बन्दै जान सक्ने उनले बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नेपाली नक्कली नोट कारोबार नियन्त्रण गर्न सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताए । उनले नक्कली नोट कारोबार नियन्त्रण गर्न मूलतः तीनवटा पक्ष महत्त्वपूर्ण हुने बताए । पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक नक्कली नोटसहित गिरोह समातिए पनि तस्करी रोकिएको छैन । आव २०७१/७२ देखि २०७८/७९ को ७ वर्षमा ३ करोड ६९ लाख ६२ हजार ५ सय ६० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको देखिन्छ ।
चेक बाउन्स
वित्तीय अपराधको रुपमा रहेको चेक बाउन्सको घटना पछिल्लो समय बढ्दै गएको पाइन्छ । हालै मात्र बैंकिङ कसुरकै कारण रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङलाई निर्वाचन आयोगले कारबाही गर्यो ।
अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो ।
नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना दर्ता भएका थिए ।
पछिल्लो समय चेक बाउन्सले नै बैंकिङ कसुरका घटना बढाएको पाइएको छ । पछिल्लो समय चेक काउन्सकै कारण पक्राउ पर्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आँकलन छ ।
प्रस्ट कानुन नभएकाले विगतमा चेक बाउन्सका थोरै मात्र घटनामा प्रहरीले बैंकिङ कसुर अपराधमा अनुसन्धान गर्दथ्यो । तर, पछिल्ला वर्ष चेक बाउन्स प्रहरी कार्यालयमा सर्वाधिक उजुरी पर्ने मुद्दा बन्न पुगेको छ । धेरैजसो देवानी प्रकृतिको लेनदेनसँग सम्बन्धित हुने भए पनि प्रहरीमार्फत जाँदा प्रभावकारी हुने भएकाले धेरै सर्वसाधारण बैंकिङ कसुरअन्तर्गत उजुरी गर्दछन् । यस्तो अपराधमा पीडित सीधै चेक अनादरको कसुरमा अदालत पुग्न सक्ने प्रावधान पनि छ ।
सीआईवीका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको बताउनुहुन्छ । बैंकिङ खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’
नक्कली धितो
पछिल्लो समय नक्कली धितो राखेर ऋण लिने प्रवृत्ति पनि बढ्दै गएको पाइन्छ । विगत केहि वर्ष अघि नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो ।
नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए । सो क्रममा खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो ।
बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको थियो । यी त केहि प्रतिनिधि घटना मात्र हुन् तर आजभोली पनि यस्ता घटनाहरु घट्दै आएका छन् ।
नक्कली अपचलन
पछिल्लो समय नक्कली अपचलनका घटना घट्दै गएका छन् । बैंक वित्तीय क्षेत्रमा यस्ता घटनाहरु विगतदेखि नै बाहिर आउने गरेका छन् । हालै मात्रै सहकारीबाट ऋण मिलाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापा रहेका छन् ।
थापाले आफू काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक भएकोले उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनी विश्वास दिलाई उक्त ऋण रकमको १० प्रतिशतले हुन आउने ३ लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ गरी जम्मा ३ लाख १२ हजार रूपैयाँ लिएको बताइएको छ ।
यस्तै उनले उक्त ऋण उपलब्ध नगराई ठगी गरी फरार रहेको भन्ने सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएपश्चात अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएकोले मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै तीन वर्ष अगाडि बैंकका म्यानेजर आफैले नक्कली प्रमाण राखेर करोडौ रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । दाङमा केन्द्रीय कार्यालय रहेको तत्कालिन वेस्टर्न डेभेलपमेण्ट बैंक देव विकास बैंकसँग मर्ज भयो । मर्ज हुने प्रकृयामा वेस्टर्न डेभेलपमेण्ट बैंकले नक्कली कर्जा धनी र कागजपत्र राखेर ऋण प्रवाह गरेको पाइएको थियो । जब मर्ज भयो तब देव विकास बैंकबाटै अबैधानिक काम भएको पत्ता लागेको थियो । दाङको घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट म्यानेजरले नै १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागमा उजुरी परेको थियो । त्यसलगत्तै दाङ प्रहरीले म्यानेजर समीर बुढाथोकीलाई पक्राउ गरेको गरेको थियो ।
नक्कली सुन
नक्कली सुनका गरगरहना धितो राखेर बैंकबाट ऋण लिएका घटनाहरु पनि बढ्दो छ । केहि वर्ष अघि नक्कली सुनका गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड र धुलाबारी शाखाबाट २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ गरेको थियो ।
यस्तै गत वर्ष मात्रै इलाम नगरपालिका–८ की बिना चेम्जोङले सुन धितो राखेर सरकारी बैंकबाट ऋण लिएकी थिइन् । बैंकले आफूबाट सक्कली सुन (सिक्री) लिएको तर ऋण चुक्ता गरेपछि भने सुनको जलप लगाएको सिक्रीमात्र फिर्ता दिएको थियो । यि र यस्ता घटना प्रतिनिधि घटना मात्रै हुन् । तर पछिल्लो समय यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।



