Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ब्याजदर वृद्धिः प्रदेश १ मा पनि आन्दोलनको घोषणा

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ बैंकको ब्याजदर चर्को भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीहरूले पनि आन्दोलनको घोषणा गरेका छन्। बैंकहरुले मनपरी ब्याजदर बृद्धि गरेकाले उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले विराटनगरमा आयोजना गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तक्रिया कार्यक्रका क्रममा व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्।

राष्ट्र बैंकको कार्यालयमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने कार्यक्रम पहिलो चरणमा तय गरिएको छ। यसलाई उद्योगी व्यापारीहरुले सांकेतिक आन्दोलनको कार्यक्रम भनेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकहरुले मनपरी बढाएको ब्याजले उद्योगी व्यवसायी टिक्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले शान्तीपूर्ण रुपमा उठाएको आवाज राज्यले सुन्नुपर्ने बताउनुभयो ।

उहाँले ब्याजदर नघटाए प्रदेश १ का उद्यम व्यवसाय धराशायी हुने गम्भीर परिस्थिति आएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले निजी क्षेत्रका लागि यो समय टर्निङ प्वाइन्ट भएको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले पनि प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को बृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशिल उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन्।