
बैंकिङ खबर/ अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी)बीच यस अध्ययन गर्न सहकार्यको सम्झौता भएको छ । निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी उनीहरूले अर्थतन्त्रमा पुर्याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउने उद्देश्यले निगमसँग सम्झौता गरिएको महासंघले जनाएको छ ।
‘यो सहकार्यबाट एक संयुक्त प्रतिवेदनको तयार हुनेछ । यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।’
‘नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ,’ उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘त्यसैले, यस प्रतिवेदनमा सरकारी तथ्याङ्कको पनि प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पु¥याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुनेछ ।”
उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक छ ।
सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्नुपर्ने अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले बताउनुभयो ।




