
बैंकिङ खबर/ बैंकहरूले ऋणमा हर्जाना र चर्को ब्याज असुलेको भन्दै सुर्खेतका व्यापारी आन्दोलित भएका छन् । शुक्रबार वीरन्द्रनगरका बजार बन्द गराउँदै उनीहरूले राष्ट्र बैंक र बैंकहरुविरुद्ध नाराबाजी समेत गरे । व्यापारीहरुको संयूक्त व्यवसायी संघर्ष समितिले बैंकको ब्याज तथा हर्जाना संशोधन गर्न माग गरेको छ ।
पछिल्लो समय चुलिँदै गएको आर्थिक मन्दीका बीच नेपाली व्यापारीहरूले भरथेग व्यवसाय धानिरहेका बेला समस्याग्रस्त बनाउनेगरी राष्ट्र बैंकले चालुपुँजी मार्ग निर्देशन २०७९ जारी गरेको र नीतिगत दरहरु बढाई ब्याजदर बढाउन भूमिका खेलेको उनीहरुको आरोप छ । आर्थिक मन्दीको अवसर छोपेर बैंकहरुले सिन्डिकेट खडा गरी ब्याजदर निर्धारण गर्ने गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
समितिले जारी गरेको विरोधपत्रमा भनिएको छ ‘अर्थतन्त्र चलायमान बनाउनुको साटो निजी क्षेत्रमा गएको ऋणको ब्याज मनलाग्दी ढंगले बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार पार्ने, ब्याज र किस्ताका लागि निरन्तर मानसिक दवाव दिने जस्ता कार्यले व्यवसायी निराश छौं ।’
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायत विभिन्न व्यापार व्यवसायमा संलग्न संगठनहरुले लिखित विरोध पत्र प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल मार्फत् प्रधानमन्त्री कार्यालयलाई पठाएका छन् ।



