
बैंकिङ खबर/ महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असोजसम्म ५ अर्ब ८६ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको १.५४ प्रतिशत मात्र हो । सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ । दुई महिना साउन–भदौमा चालु खर्च १ खर्ब नाघेको छ । चालु खर्च १ खर्ब ९ अर्ब ४७ करोड रुपैयाँ भइसकेको छ । यो लक्ष्यको ७.५३ प्रतिशत हो ।
यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको छ । वित्तीय व्यवस्थामा सरकारले १९ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । यो लक्ष्यको ८.५८ प्रतिशत हो । यस आवमा सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य राखेको छ ।
सरकारले यस आवमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । दुई महिनाको कुल बजेट खर्च १ खर्ब ३५ अर्ब ८ करोड रुपैयाँ भएको छ ।
दुई महिनामा राजस्व संकलन भने १ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको छ । गत आवमा दुई महिनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।



