
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भन्नुभयो, ‘विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं । पछिल्लो अवस्था रहेको छ । त्यो चिन्ता लाग्दो अवस्था नै छ । अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालिन मात्रै हुनसक्छ । हामी फण्डामेन्टल समस्यामा आएका छौं ।’
उहाँले अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘उद्योग व्यवसायहरु चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो । उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि पराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुई मत छैन ।’
उहाँले अर्थतन्त्र संकुचन हुने अहिलेको अवस्था रहेको पनि बताउनुभयो । उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचनमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन सकेको छैन । नेपालको विज्ञापन बजार करिव पौने अर्बको पुगेको छ । अवस्था सहज भएको भए आज अहिलेसम्म २० अर्ब रुपैयाँको बजार पुगेको हुने थियो । स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको छ । कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएका छन् । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको छ । अप्रत्यक्षरुपमा १ लाख १५ हजार जनाभन्दा बढीले यो क्षेत्रमा जोडिएका छन्।’



