Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

चीनसँगको नाका खोल्न व्यवसायी महासंघको आग्रह

२०७९ भाद्र २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाकामा अड्किएका अर्बौँका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालीहरूको ठूलो चाड दसैँ नजिएको तर दसैँमा बेच्नु पर्ने सामान नाकामै रोकिँदा अर्बौँका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । ‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सयौँ मालवाहक कन्टेनरहरू नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौँका सामानहरू सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’

महासंघले यी समस्याहरू तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरू बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ । बैंकले दिएको मानसिक तनावका कारण कतिपय उद्योगी व्यवसायीहरूले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ ।

मितिः २०७९।०५।२५

प्रेस विज्ञप्ति 

देशको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण क्षेत्र उद्योग व्यवसाय भएको कुरा सर्वविदितै छ । राज्यको राजश्व असुलीको मुल क्षेत्र दिनानुदिन घरायसी बन्दै गएको देखिन्छ । देशमा उद्योगी तथा व्यवसायीमैत्री वातावरण नहुनुका कारण अरबौँ लगानी गरी उद्योग व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी–व्यवसायीहरू पलायनतर्फ उन्मुख भइरहेको प्रष्ट देखिन्छ । कागजमामात्रै व्यवसायमैत्री नीति नियम हुने र कार्यान्वयन भने अति नै फितलो हुनु नै अहिलेको मूख्य समस्या देखिन्छ । जसको मार प्रत्यक्ष रुपमा व्यवसायीहरूले भोग्नु परेको छ । यस्तो विकराल अवस्थामा पनि राज्यको नीति निर्माण तहमा सरकारको ध्यान यस विषयमा पुग्न नसकेको विषयप्रति यस नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

व्यवसायीहरूले आफ्नो सम्पूर्ण जायजेथा बैंकलाई बुझाएर ऋण गरी उद्योग व्यापार सञ्चालन गरेका छन् । विभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण व्यापार व्यवसायले गति लिन नसक्दा बैंक ब्याज तथा घरभाडा समेत तिर्न नसकेको अवस्था छ । फितलो राज्य संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ । सयौं मालवाहक कन्टेनरहरू नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौँका सामानहरू सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ । यस्तो विकराल परिस्थितिमा समेत सरकार लाचार भएर बस्नु भनेको गैर जिम्बेवारीपनको पराकाष्ट हो । यसैगरी नेपाल राष्ट्र बैंकको विभेदपूर्ण मौद्रिक नीतिका कारण उद्योगी व्यवसायीहरू जीवनमरणको विन्दुमा पुगेको प्रसस्त उदाहरणहरु छन् । बैंक तथा वित्तीय संस्थामैत्री नीति बन्ने तर व्यवसायीहरुलाई भने घेराबन्दी गर्ने नीतिको उपज यी समस्याहरू देखिएका हुन् । एकल अंकमा हुनुपर्ने ब्याजदरले सीमा नाघेर १४/१५ प्रतिशतसम्म पुग्दा पनि सरकार र राष्ट्र बैंक मौन छ । व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफथ गर्ने धम्की दिदै मानसिक तनाव दिइरहेको अवस्था छ । सहज रुपमा कर्जा उपलब्ध नहुँदा व्यापार व्यवसाय अधोगतिमा गइरहेको छ । यावत समस्याले गर्दा व्यवसायीहरू मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् । यस्तो विकराल परिस्थितिमा राज्यको ध्यान भने साना तथा मझौला उद्योगी व्यवसायीहरुमा नभइ ठूला र चाकरी गर्नेहरुको पक्षतिर मात्रै गइरहेको देखिन्छ । 

उद्योग व्यवसाय ध्वस्त हुनु भनेको देश आर्थिक संकटतर्फ उन्मुख हुनु हो भन्ने कुराप्रति राज्य, सरकार, र सम्बन्धित निकायको सोच पुग्न जरुरी छ । उद्योग व्यवसायीसँग कर असुली मात्र नभई संरक्षण गर्नु पनि राज्यको दायित्व हुन्छ । उल्लेखित समस्याहरू प्रति सबै पक्ष जिम्मेवार बन्दै व्यवसाय मैत्री वातावरण नबनेमा सम्पूर्ण उद्योगी व्यवसायीहरू बाध्य भएर संघर्षमा उत्रिनु पर्ने हुन्छ । तसर्थ यो देशलाई आर्थिक संकटबाट जोगाउन मुलत सरकार तथा राज्य जिम्मेवार बन्न, राष्ट्र बैंकको मौद्रिक नीति विभेदपूर्ण नभई सन्तुलित र व्यवसायी मैत्री बनाउन बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फि नाफा मात्र नहेरी व्यवसायीलाई पनि संरक्षण गर्न साथै सिमा नाकामा थन्किएर बसेका सामानहरू भित्र्याउन सम्बन्धित सबै पक्षसँग सम्पूर्ण उद्योगी व्यवसायीहरुको तर्फबाट यस नेपाल राष्ट्रिय व्यवसायी महासंघ जोडदार माग गर्दछ ।

कुमार कार्की

अध्यक्ष