२०७३ आश्विन १० गते

अर्थतन्त्रमा ‘खतराको संकेत’ : वर्षको सुरुमै घट्यो झण्डै ‘५० अर्ब रेमिटेन्स’

remitanceनवराज कुँवर । गत वर्षको भुइँचालोपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रुपमा घट्यो । जसका कारण त्यो वर्ष त रेमिटेन्स घट्यो नै तर चालु आर्थिक वर्षको सुरुवाती महिना पनि रेमिटेन्स वृद्धिद्धरमा गिरावट आएको छ । ०७२ बैशाखमा गएको भूकम्पपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निकै घटेकाले रेमिटेन्सको प्रवाह घट्ने अड्कल गरिएको थियो । आर्थिक वर्ष ०७२/०७३ मा बिदेसिने नेपालीको संख्या १८.४ प्रतिशतले घटेको श्रम विभागको रेकर्डमा छ ।

चालु आर्थिक वर्षको साउन महिनामा रेमिटेन्स वृद्धिदरमा गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो वर्ष रेमिटेन्स नै पनि २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो महिना अघिल्लो वर्ष सोही महिनाको तुलनामा २६.३ प्रतिशतले बढेको थियो ।

अघिल्लो साउनमा ५३ अर्ब २७ करोड रेमिटेन्स नेपाल भित्रिएकोमा चालु आर्थिक वर्षको साउनमा भने १ अर्ब ३३ करोड भन्दा कम भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष ०७२/७३ मा कुल ६ खर्ब ६५ अर्ब ६ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो । यसर्थ नेपालमा गत आर्थिक वर्षमा दैनिक रुपमा औसत एक अर्ब ८२ करोड रुपैयाँ रेमिटेन्स भित्रिरहेको थियो । तर, आर्थिक वर्षमा रेमिटेन्स भित्रिने क्रम ७.७ प्रतिशतले मात्र बढेको देखिए पनि त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७१/०७२ मा भने यसको वृद्धिदर ०७०/०७१ को दाँजोमा १३.६ प्रतिशतले बढेर ६ खर्ब १७ अर्ब पुगेको थियो । रेमिटेन्स आउने क्रम घटेपछि खुद ट्रान्सफर आय पनि २.५ प्रतिशतले कम भएर ५९ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो। रेमिटेन्स आम्दानी घट्दा समग्र आर्थिक वृद्धिदर नै घट्ने राष्ट्र बैंकको अनुमान छ ।
 
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको विवरण सार्वजनिक गर्दै मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनमा प्रत्यक्ष एवं परोक्ष रुपमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको रेमिटेन्सको वृद्धि कमजोर हुँदै आएकाले यसबाट सेवा क्षेत्र वृद्धिका साथै समग्र आर्थिक वृद्धिदर नै प्रभावित हुने जोखिम औँल्याएको थियो ।

रेमिटेन्स घट्नुमा हुण्डीको भूमिका मुख्य
अघिल्लो वर्षको भूकम्पपछि वैदेसिक रोजगारीमा जानेको संख्या घट्नु एउटा कारण भएपनि हुण्डी कारोबार मौलाउँदै गएकाले रेमिटेन्स वृद्धिदरमा गिरावट आएको रेमिटेन्स कम्पनी संचालकहरुको भनाई छ । हुण्डीबाट आउने रकम रेमिटेन्समा गणना हुँदैन । त्यसलाई सरकारले गैरकानूनी भनेर हुण्डी कारोबारमा रोक पनि लगाएको छ । यद्यपी हुण्डी कारोबारले नेपालको रेमिटेन्स आप्रवाहमा गहिरो प्रभाव पारिरहेको रेमिटेन्स कम्पनीका संचालकहरु बताउँछन् ।