June 28th, 2022

नगर विकास कोषद्वारा सप्तकोसी सहरी खानेपानी आयोजनालाई ११ करोड ७२ लाख ऋण सहयोग

बैंकिङ खबर/ सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग नगर विकास कोषको ११ करोड ७२ लाख ४८ हजार ऋण लगानी सम्झौता भएको छ ।

एसियाली विकास बैंकको वित्तीय सहयोगमा सञ्चालित सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सप्तरीका अध्यक्ष लेखनाथ घिमिरेबीच ऋण सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा सप्तकोसी नगरपालिका प्रमुख कृष्णप्रसाद ढकालले ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको छ ।
ठेक्का कवोल अंक ४६ करोड ८९ लाख ९४ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदानबापत ३२ करोड ८२ लाख ९५ हजार, नगर विकास कोषका तर्फबाट २५ प्रतिशत ऋणबापत ११ करोड ७२ लाख ४८ हजारका साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताका तर्फबाट ५ प्रतिशतबापत २ करोड ३४ लाख ४९ हजार बेहोरिनेछ ।

सप्तकोसी नगरपालिकाको वडा–१ देखि ११ सम्मका घरधुरीका लागि खानेपानी उपलब्ध गराउने उक्त आयोजनाले ५ वटा डिप बोरिङको माध्यमबाट आयोजना निर्माणपछि सन् २०२३ मा ५ हजार घरधुरीका करिब ३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा सप्तकोसी सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षले शुद्ध र सुरक्षित खानेपानी अभाव झेलिरहेका आयोजना क्षेत्रका जनताका लागि आयोजनाको महत्वमाथि प्रकाश पार्दै यसलाई गुणस्तरीय रुपमा समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयाे ।

सम्झौतामा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका सप्तकोसी नगरपालिकामा नगरप्रमुख ढकालले नगर क्षेत्रका जनतालाई सुरक्षित र सर्वसुलभ खानेपानीको सेवा उपलब्ध गराउन खानेपानी आयोजनालाई सफल बनाउन नगरपालिकाको समेत जिम्मेवारी भएको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख ढकालले नगरपालिकामा पूर्वाधार विकासका लागि स्रोत कमी भएको अवस्थामा कोषको यो ऋण सहयोग महत्वमाथि प्रकाश पार्दै सहरी पूर्वाधारका अन्य आयोजनाका लागि पनि कोषको वित्तीय तथा प्राविधिक सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजनाको सफल कार्यान्वयनका लागि उपभोक्ता संस्था, नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा नगर विकास कोषको एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नगरपालिका क्षेत्रमा बन्ने खानेपानी आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्न नगरपालिकाबाट नियमित रुपमा अनुगमन गर्नुपर्नेमा समेत जोड दिनुभयो । आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भई सम्बन्धित आयोजना क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशकले खानेपानी तथा सरसफाइ आयोजनासँगै सप्तकोसी नगरपालिकासँग सहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहोरमैला व्यवस्थापनलगायतका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]