एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा


Bankingkhabar /June 20, 2022


बैंकिङ खबर/ राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । संघले काठमाडौंमा आयोजना गरेको काठमाडौँ महानगरपालिका २२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाइ तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका २२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताउनुभयो ।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक १२ करोड रूपैयाँभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिका(२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्‍ने विश्‍वास दिलाउनुभयो ।

उहाँले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गरे । राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

व्यापार संघका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताउनुभयो । उनले बिक्रेताले ढुवानीको पैसा तिनुपर्ने नियमले व्यवसायी मर्कामा परेका बताउनुभयो ।

संघका पूर्व अध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, महासचिव वैकुण्ठ दाहालगायतले बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामांकन गरी ‘लोकेसन म्याप’ राख्नुपर्नेमा जोड दिनुभयो । विसं २०६१ मा स्थापना भएको संघमा न्यूरोड क्षेत्रका दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

Spread the love

सोसिअल मेडिया