
बैंकिङ खबर/ बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। अर्थमन्त्री जनार्दन शर्माले यो पेश गर्नुभएको हो । बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान अर्थतन्त्रको चुनौति हो। अबको बजेट आयात घटाउनमा केन्द्रित हुनेछ।’
साथै, आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि मन्त्री शर्माको भनाइ छ। बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट खर्चिने उल्लेख छ।
चालु वर्षमा आयात अधिक भएकाले विदेशी मुद्रा सञ्चितीमा दबाब बढेको मन्त्री शर्माले बताउनुभएको छ ।उहाँले भन्नुभयो, ‘आयात घटाउँदा भन्सार राजस्व कम हुने भएकाले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउन प्रयास गरिनेछ यसको लागि करको दायरा विस्तार गर्न प्रयास गरिनेछ।’
आगामी आर्थिक वर्ष २०७९/८० को प्राथमिकता तथा सिद्धान्तमा वर्षैभरी सञ्चालन हुने एक महत्वपुर्ण राजमार्ग बनाइने उल्लेख छ।
विदेयकमा विगत वर्षहरूदेखि नै व्यापार घाटा निरन्तर बढ्दै गएको उल्लेख छ। आन्तरिक उत्पादन अपेक्षाकृत बढ्न नसक्नु र दैनिक उपभोग्य वस्तुहरूको आयात बढ्दै जानु अर्थतन्त्रका लागि चुनौतीको रूपमा रहेको छ ।
खेतीयोग्य जमिन बाँझो रहने र युवाहरू रोजगारीका लागि विदेशिने अवस्था देशको लागि चुनौती बनेको बताइएको छ। विधेयकमा राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाई सार्वजनिक ऋण तथा वित्तीय घाटा र मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उल्लेख छ।