Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आजदेखि बजेट अधिवेशन, जेठ ७ मा नीति तथा कार्यक्रम

२०७९ जेष्ठ ३ गते

बैंकिङ खबर/ संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ ।

बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ । सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । यो दिन विरोध गर्ने वा नगर्ने विषयमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा छलफल भएको बताइएको छ ।

जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।

यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ । मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ । प्रतिनिधिसभाको नियमावलीको नियम १४२ को उपनियम ४ अनुसार यो छलफल भने राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिनअघि नै सक्नुपर्ने प्रावधान छ ।

Ad