
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गर्नुभएको छ । उहाँले सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताउनुभयो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उहाँले वैदेशिक लगानी बढ्ने क्रममा रहेको बताउनुभयो । ३÷४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको पनि उहाँले बताउनुभयो । खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताउनुभयो ।
निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको उहाँको भनाइ छ ।कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनी निजी क्षेत्रका सुझाव बजेटमा समेटेर अगाडी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आर्थिक क्षेत्र सुधारमा लाग्ने छौँ । अर्थतन्त्रमा ७० प्रतिशत निजी क्षेत्रको योगदान छ । आर्थिक क्षेत्रका विकासका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य पर्छ । त्यसैले बजेटमा निजी क्षेत्रको सुझाव समेटेर अगाडी बढ्छौँ ।’