Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थतन्त्र विग्रनुमा लगानीयोग्य पुँजीको अभाव : उद्योगी व्यवसायी

२०७८ चैत्र २४ गते

बैंकिङ खबर/  नीजि क्षेत्रका सरोकारवालाले बजारमा तरलताको अभाव नै आर्थिक समस्या भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी योग्य पुँजीको अभाव र राष्ट्र बैंकले पुनर्कर्जाको व्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताउनुयो ।

मिडिया इन्टरनेशनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उपाध्यक्ष श्रेष्ठले पुनर्कर्जाको व्याजदर ७ प्रतिशत हुँदा उद्योगी व्यवसायीको लागत खर्च बढ्ने गरेको बताउनुभयो । महासंघले लागत खर्च कम गर्न, उत्पादकत्व बढाउन सरकारलाई पटक–पटक आग्रह गरेपनि त्यो सुनुवाई हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले व्याजदर बढेर १३ प्रतिशत पुगेको छ । निक्षेपमा व्याज बढी दिँदैमा निक्षेप पनि बढेको छैन ।’

नीजि क्षेत्रले सरकारलाई ३५ प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था आएको भन्दै उहाँले आगामी बजेटमा करको दर कम हुनुपर्ने बताउनुभयो ।
पछिल्लो समय बैंकमा देखिएको तरलताको समस्यालाई हल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बैंकहरुसँग प्रयाप्त जनतालाई ऋण दिन सक्ने अवस्था छैन । अहिलेको समस्या यही हो ।’ हालै राष्ट्र बैंकले आयतमा गरेको कडाइका बारेमा उहाँले भन्नुभयो, ‘कडाई गर्दैमा र१ सय १० प्रतिशत धितो राखेर आयत गर्दैमा आयातको दर भने कम हुँदैन ।’

राष्ट्र बैंकले हचुवाको भरमा आयत रोकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘राज्यले जनतालाई अपिल गर्नुपर्यो । सरकारले ठूलो सार्वजनिक गाडिको व्यवस्था गर्नुपर्यो । महंगो सामान प्रयोग नगर भन्नुपर्यो । यसरी सामानको आयत नै बन्द गर्ने निर्णयले के इफेक्ट गर्छ भनेर सरकारले सोच्नुपर्छ ।’ उहाँले सरकारले कुन–कुन बस्तु निर्यात गर्ने, कुन आयत गर्ने भनेर निर्कोल गर्नुपर्ने बताउनुभयो । व्यवसायीले चाहिने भन्दा बढी सामान मगाएको छ भने त्यसलाई रोक्नुपर्ने भन्दै उहाँले अत्यावश्यक वस्तु के के हुन् भनेर आपूर्ति मन्त्रालयले छुट्याउनुपर्ने बताउनुभयो ।

यस्तै उपाध्यक्ष श्रेष्ठले बैंकहरुमा निक्षेप नबढ्नु अहिलेको सबैभन्दा ठूलो समस्या भएको पनि बताउनुभयो । हाम्रो अर्थतन्त्र मानवको शरिर जसरी नै समस्यामा परेको भन्दै यसमा विज्ञहरुको सुझावको खाँचो रहेको बताउनुभयो । तर विज्ञका फरक–फरक विचारका कारण थपसन्त्रास फैलिएको पनि उहाँको भनाइ छ । सरकारले उत्पादनको लागतलाई कम गर्न र सामानलाई बजार विस्तारका लागि विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ । उपाध्यक्ष श्रेष्ठले सरकारले पछिल्लो देशको अवस्था के छ भनेर राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, राष्ट्र बैंकसँग सँगसँगै बसेर निक्र्याैल गरेर जनतामा देशको अवस्था के छ भनेर स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय बैंकमा पैसा राख्नुहुँदैन भन्ने जनतामा त्रास देखिएको छ ।देशश्रीलंकको जस्तो आर्थिक संकटतर्फ जान्छ कि भन्ने जनतामा भय उत्पन्न भएको छ । जसले घरमै पैसा राख्न थालेका छन् । यसरीघरमै पैसा राख्दा पनि तरलतामा समस्या देखिएको हो ।’ विदेशबाट रकम पठाउनेले पनि घरखर्च चलाउने जति मात्र पठाउने गरेको र विदेशमै लगानी गर्दा थप समस्या भएको उहाँको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्ययले बैंकको व्याजदरका कारण उद्योगी व्यवसायीसमस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको व्याज १३ प्लस हुने भन्ने कुरा छ । ब्याजदर बढ्दै जाँदा उद्योग, व्यवसायी उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं, केही महिनामा कतिको नाम पत्रिकामा छापिने हो थाहा छैन ।’

सरकारले विलासित बस्तुको कडाइका कारण केहि प्रभाव परेको बताउँदै उहाँले यसको रिजल्ट आउन केहि समय लाग्ने बताउनुभयो । उहाँले आयतमा कडाइ गरेर मात्रै केहि नहुने भन्दै उत्पादन बढाउन र बजार चलायमान बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
एलसी बन्द गर्ने नाममा साना व्यावसायीहरुले बजारमा कच्चा पदार्थको अभाव खेप्नु परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयातमा डलरको भाउ बढ्ने र भन्सारमा पनि दर बढेको स्थिति छ ।’

उत्तरी नाकालाई सुलव बनाउने धेरै प्रयास गरेपनि त्यो पहल हुन नसकेको उहाँको भनाइ छ । तरलता अभाव र आयतमा कडाइ गर्दा फाइदा जस्तो देखिएपनि आफ्नो स्रोत प्रभावित र क्षमता अनुसारको उप्पादन हुन नसकेको उहाँको भनाइ छ । एलसी खोल्दा कुनै पनि बैंकसँग सहुलियत कर्जा नभएको र उद्योगको उप्पादन र आयत प्रभावित भएको उहाँले बताउनुभयो । यहि मोडलमा जाँदा आगामि अर्थतन्त्र कुन मोडमा जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिनरल वाटर यशोशियसनका संस्थापक धर्मनन्द श्रेष्ठले पानीलाई निर्यातको रुपमा समावेश गर्न सरकारलाई पटक–पटक झकझक्याएपनि सुनुवाई नभएको बताउनुभयो । उहाँले आफुहरु नेपालबाट पानीको निर्यातलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पानीबाट विदेशी मुद्राहरु आर्जन गर्न सकिन्छ । धार्मिक रुपमा पानीको निर्यात गर्न सकिन्छ । उदाहरणका रुपमा मुक्तिनाथको पानी, लुम्बिनीको पानी, सगरमाथाको पानी भनेर पनि पानीलाई निर्यात गर्न सकिन्छ । जसबाट देशले प्रत्यक्ष फाइदा लिन सक्छ ।’श्रेष्ठले कोभिडका कारण देश आर्थिक संकट देखिएको भन्दै अझ बढी सरकारको क्रियाकलापका कारण संकटको स्थिति देखिएको बताउनुभयो । उहाँले ९ महिनामा २२ प्रतिशत मात्र पुँजीगत खर्च भएको भन्दै जब चालु खर्च बढाउने अवस्था आयो तब सरकार परिवर्तन हुने गरेको बताउनुभयो ।

यस्तै उहाँले सिमित र क्षणिक नाफामा बैंकहरु रहेको भन्दै यसमा बैंकको नीति परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले बैंकले व्यापारी तथाउद्योगी र उत्पादन गर्नेलाई समान ढंगले हेर्न नहुने भन्दै सही नीतिको खाँचो औंल्याउनुभयो । अहिले बैंकको लोन तिर्न नसक्दा धेरै उद्योगी व्यवसायी निराश भएको उहाँको भनाई छ । उहाँले जबसम्म कृषिमा आत्मनिर्भर हुन सक्दैनौ तबसम्म समृद्ध नेपालकोपरिकल्पना गर्न नसकिने बताउनुभयो । श्रेष्ठले वास्तविक किसानले सहुलियत नपाएको र यसमा सरकारले निरीक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ कागजी किसानले अनुदान पाएका छन् । तर वास्तविक किसानले अनुदान पाएका छैनन् । त्यसैले यसमा अनुगमनको खाँचो छ । उहाँले नेपालमा ९८ प्रतिशत आयत गर्ने र ६ प्रतिशत मात्रै निर्यात गर्नुपर्ने स्थिति रहेको भन्दै नीति परिवर्तन गरेर निर्यातलाई फोकस गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले २०७२ साल वैशाखको भूकम्पपछि हालसम्म आइपुग्दा समेत चीनसँगको नाका सहज नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०७२ साल वैशाख भूकम्पपछि चाइनासँगका नाका अवरोध भयो । अझैसम्म पनि केरुङ, तोतोपानी नाका सहज नभएको अवस्था छ । जसले गर्दा नेपालमा जिडिपीमा नै असर गरेको छ ।’भारततर्फका नाकाबाट आयात गर्दा बढी महङ्गो पर्ने गरेको भन्दै उहाँले उत्तरी नाका सहज रुपमा सञ्चालनका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकले सहज रुपमा कर्जा प्रवाह नगर्दा त्यसको प्रत्यक्ष असर उद्योगी व्यवसायीहरुलाई परेको बताउनुभयो ।

यस्तै उहाँले कुन बस्तु आयत गर्न दिने र कुन नदिने भन्ने सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयतमाप्रतिबन्ध लगाउँदा कालाबजारी बढेको छ । लत्ता कपडा सहज रुपले ल्याउन पाउने व्यवस्था गर्नुपर्छ । लत्ता कपडा आयतमा सरकारले प्रोत्साहन पनि गर्नुपर्छ ।’ उपाध्यक्ष पराजुलीले सरकारले चिनियाँ नाका हुँदै नेपाल सामान भित्र्याउन त्यहाँको सरकारसँग जि टु जि कार्यक्रम राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वाग्मती प्रदेश घरेलु महासंघकी वरिष्ठ उपाध्यक्ष एवं महिला उद्यमी सरिता भट्टराई श्रेष्ठले महिलाहरुलाई बैंकिङ कर्जा पाउन अत्यन्तै समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकहरुले कर्जाका लागि सहजीकरण गर्छु भनेपनि महिलाहरुका लागि कर्जा पाउन महिनौ धाउनपर्ने स्थिति हुन्छ । १०, १५ लाख भनेपनि १ लाख पाउन पनि मुस्किल छ । श्रीमानको नागरिकता,लालपुर्जा र धरौटि माग्ने गरेको स्थिति छ ।’

यस्तै उद्यमी भट्टराईले देशमा उद्यमशिलताको खाँचो रहेको बताउनुभयो । उहाँले महिलाहरु पछिल्लो समय व्यवसायमा लाग्न चाहेको भन्दै कर्जाका लागि सरकारले सुष्म ढंगले अध्ययन गरेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले अहिले पछिल्लो समय नेपाल पनि श्रीलंकको स्थितिमा पुग्छ भनेर हल्ला फैलाइएको भन्दै त्यसमा सत्यता नभएको बताउनुभयो । उहाँले पछिल्लो समय रेमिट्यास र श्रमस्वीकृति लिनेको संख्या बढेको भन्दै अर्थतन्त्रको संकट लामो समयसँग नजाने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

Ad