
बैंकिङ खबर/ सहकारी संस्थाहरुले पनि एटीएम प्रणालीलाई प्रयोगमा ल्याउन थालेका छन् । पछिल्लो समय बैंकवित्तहरु डिजिटलतर्फ गइरहेको समयमा सहकारीले पनि आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । हालै सहकारीले आफ्नो पहिचानसहितको एटीएम कार्ड प्रयोगमा ल्याउन सक्ने विषयमा समेत सहमति भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा सहकारी संस्थाहरुले पनि एटीएम जारी गर्न लागेका छन् । हालै स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको थियो । यो सम्झौतासँगै सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो ।

उक्त सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्ने छन् । सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा बस्तु खरिद गर्न सक्नेछन् । कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सरहकारीले जारी गर्नेछन् ।
सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन् ।
धेरै एटिएम बुथ सञ्चालन गर्ने सहकारीमा शिव शिखर
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था नेपालमा सबैभन्दा धेरै एटिएम बुथ सञ्चालन सहकारी संस्था बनेको छ ।
संस्थाले देशको विभिन्न स्थानमा ७ वटा आफ्नै एटिएम बुथ सञ्चालनमा ल्याएको छ । हालसम्म सहकारी यति धेरै एटिएम बुथ सञ्चालनमा ल्याएका छैनन् । संस्थाले ललितपुरको ठैबमा ७ औं एटिएम बुथ सञ्चालनमा ल्याएको छ । उक्त एटिएम बुथको उद्घाटन संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले गरेका थिए ।
एटिएम बुथको उद्घाटन कार्यक्रममा रजिष्ट्रार अधिकारीले सहकारीले सदस्यलाई प्रविधिमैत्री बनाएकोमा खुसी व्यक्त गरे । उनले सहकारीहरु प्रविधिमैत्रि हुनुपर्ने र पेपरलेस तथा क्याँसलेस सेवामा सहकारी जानुपर्ने बताए ।
संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ राखेर सदस्यलाई डिजिटल सेवा दिने संस्थाका मुख्य व्यवस्थापक लिलानाथ गौतमले बताए । अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने बताए ।
साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम बुथ सञ्चालन गर्ने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । सेवा विस्तार हाल सञ्चालनमा रहेको एटिएम सेवालाई आवश्यकताका आधारमा थप क्षेत्रमा विस्तार गर्दै लगिने संस्थाले जनाएको छ । उच्च सुरक्षा अन्तर्गत ग्रिन पिन प्रयोगमा ल्याइने पनि संस्थाले जनाएको छ ।
नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढाइरहेको राष्ट्रिय सहकारी बैंकले पनि विगतदेखि नै डिटिलाईजेशनलाई प्राथमिकता दिँदै आएको छ । विभिन्न बैंकहरुको सहकार्यमा सहकारीले एटिएम सेवा सञ्चालन गर्दै आएको छ ।
एटिएम सेवा राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरुले उपभोग गर्न पाउने गरी एटिएम सेवा उपलब्ध गराउँदै आएको छ । देशभरका सहकारीका सदस्यहरुले सुलभ रुपमा सुरक्षित कार्ड प्रयोग गर्दै आएका छन् ।
बैंकले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग गरी सहकारीका सदस्यहरुलाई समेत नबीनतम सुविधा उपभोगको अबसर प्रदान गर्ने लक्ष्य सहित एटिएम सेवा दिँदै आएको छ ।
एटीएम शुरु गर्ने पहिलो सहकारी विकु
सहकारी क्षेत्रमा पहिलो पटक एटीएम प्रयोग गर्ने सहकारी विकु सहकारी हो । नवलपरासीको गैंडाकोटमा रहेकोसहकारी संस्थाले विगतदेखि नै क्यूआर कोड पेमेन्ट सिस्टम शुरु गर्दै आएको थियो । सहकारी संस्थाले हाल एटिएम सेवा तथा ३६५ दिने बैकिङ सेवा विस्तार गरिरहेको छ ।
संस्थाले सेवा केन्द्र स्तरमा एटिएम सेवा तथा ३६५ दिने बैंकिङ सेवा संचालनलाई निरन्तरता दिँदै आएको छ । अहिले यस सरकारीले पनि एटिएम सेवा विस्तारलाई तिव्रता दिँदै आएको छ ।
यस्तै श्री लालीगुँरास सहकारी संस्था लिमिटेडले पनि विगतदेखि नै एटिएम सेवा शुरु गर्दै आएको छ । पुल्चोक स्थित मुख्य कार्यालय लगायत आफ्ना शाखा कार्यालयमा सहकारीले एटिएम सेवा विस्तार गर्दै आएको छ ।
संकटा बचत तथा ऋण सहकारी संस्था, सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडऽ पाँच तारा बचत तथा ऋण सहकारी संस्था लगायत सहकारी संस्थाले ‘एटिएम’ सेवा संचालन गर्दै आइरहेका छन् ।
‘सहकारीले अब डिजिटल सेवा दिन ढिला गर्नुहुन्न’

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं सहकारीले अब डिजिटल सेवा दिन ढिला गर्न नहुँने बताउँछन् ।
उनी भन्छन्, ‘एटिएम सेवाहरु सहकारीहरु दिँदै आएको छ । डिजिटल फण्ड ट्रान्सफरका सेवाहरु पनि दिएको अवस्था छ । केहि सहकारीले कमर्सियल बैंकहरु, विकास बैंकले जस्तै सफ्टवयर प्याकेजहरुमार्फत सेवा दिएको अवस्था छ । त्यो आम सहकारीमा हुनुपर्ने म देख्छु ।’





