
बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवद्र्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।
बेलायतसँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा वढी भए पनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरिदिन चेम्बरले आग्रह गरेको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यातयोग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए ।
बेलायतसँग वार्षिक २ अर्ब हाराहारीमा मात्रै व्यापार भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले जडीवुटी, खानिजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न सकिने उल्लेख गरे । यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्ने अध्यक्ष मल्लले बताए ।
नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो १० वर्षदेखि व्यवसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेकोप्रति अध्यक्ष मल्लले राजदूत आचार्यको ध्यानाकर्षण गराए।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, उलन लगायतका गरि गत वर्ष २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो । बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरा लगायत २ अर्ब २६ करोड रुपैयाँको आयत भएको छ ।
अध्यक्ष मल्लले पूर्वाधार, जलश्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि राजदूत आचार्यलाई आग्रह गरे । सुनचाँदीको तयारी गरगहना, जिन्सको पाइन्ट लगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।
नवनियुक्त राजदूत आचार्यसँग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसँग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली राजदूतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदूत आचार्यसँग आग्रह गरे ।
जवाफमा राजदूत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्वन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए । बेलायतसँगको सवैभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई उच्चस्तरीय आर्थिक सम्वन्धमा परिणत गर्नका लागि आफूले सक्दो पहल गर्ने आचार्यको भनाइ छ ।
उनले आफ्नो कार्यकालको शुरुमै दुई देशका व्यापारीबीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासनसमेत दिए। बेलायतले पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको उनले बताए।
नेपाल विकासशील राष्ट्रमा गएपनि भूपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफूले पहल गर्ने आचार्यको भनाइ छ ।