Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निर्यात ९५.५ प्रतिशतले बढ्यो, ६ महिनामा एक खर्ब १८ अर्ब ८५ करोडकाे वस्तु निर्यात

२०७८ माघ १८ गते

बैंकिङ खबर/ निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ। महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा साेमबार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए।

चालु आवको प्रथम ६ महिनाको अवधिमा नेपालको कूल निकासी ९५.५ प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड तथा कूल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको अध्यक्ष गुरुङले बताए। “नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेल भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा बढोत्तरी देखिएको छ”, उनले भने।

अध्यक्ष गुरुङले महासङ्घले उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहमा ऊन मिसन कार्यक्रममार्फत भेडा र च्याङ्ग्रापालनका लागि प्रोत्साहन कार्यक्रम तथा गण्डकी र कर्णाली प्रदेशमा हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने बताए।

यस्तै काठमाडौँ उपत्यकाभित्र नेपाल सरकार र महासङ्घको साझेदारीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गर्ने, अघिल्लो वर्षको भन्दा थप परिणाम र मूल्यको वस्तु निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गर्ने महासङ्घले जनाएको छ।

च्याङ्ग्रा, पस्मिना, फेल्ट, नेपाल हर्ब्स, नेपाली चिया, हिमालय नेपाली कार्पेट, कफिलगायतका सामूहिक ट्रेडमार्कको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने अध्यक्ष गुरुङको भनाइ छ। आव २०७७/७८ को आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म आय भएकालाई ७५ प्रतिशत, ५० लाखदेखि एक करोडसम्म आय भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने महासङ्घले जनाएको छ।

यसैगरी स्वदेशमा उत्पादन गरेको कच्चापदार्थ तथा सहायक कच्चापदार्थ विशेष उद्योगलाई बिक्री गरि प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने महासङ्घले जनाएको छ। नेपाली निर्यातजन्य वस्तुको उत्पादनका लागि महासङ्घले सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष गुरुङले बताए।