विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तस्रो लहरले अन्य क्षेत्र जस्तै लघुवित्त क्षेत्रमा पनि प्रभाव पार्न थालेको छ । अहिले दैनिक रुपमा लघुवित्तका कर्मचारी, सदस्यहरु कोरोना संक्रमित हुन थालेका छन् । कोभिडले लघुवित्त क्षेत्रमा पनि थुप्रै समस्या र चुनौतिहरुको सामना गर्नपर्ने अवस्था आएको छ ।
यसैबीच हामीले लघुवित्त क्षेत्रमा कोरोनाको प्रभाव, लघुवित्त मर्जर लगायतको विषयमा केन्द्रीत रहेर लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मासँग कुराकानी गरेका छौं । प्रस्तुत छ अध्यक्ष शर्मासँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश ।
कोरोनाको तेस्रो लहरले लघुवित्त क्षेत्रमा कस्तो असर पर्न थालेको छ ?
अब यसको पुरा असर देखिन त बाँकी नै छ । पहिलो र दोस्रो लहरको त सामान्य जस्तै प्रभाव थियो । अब तेस्रो लहरको असर चाहिँ अरुको तुलनामा बढी नै हुने संकेत देखिन्छ । कर्मचारीमा संक्रमण हुने क्रम देखिएको थियो । अब अंकमै यति प्रभाव परेको छ भन्न सकिने अवस्था अहिले नै छैन । केही समयपछि यसको यकिन तथ्यांक पनि आउँला ।
पहिलो र दोस्रो लहरमा कस्तो असर परेको थियो ? संक्रमित कर्मचारीको संख्या कति छ ?
पहिलो र दोस्रोले हाम्रो गुणस्तर खस्किएको अवस्था थियो । समयमा कर्जा तिर्न नसक्ने अवस्था आएपछि समस्या भएको थियो। पहिलो लहरमा त्यसवर्षको नाफामा गिरावट आएको थियो । कर्मचारीमा कति जना संक्रमित छन् भन्ने अहिले नै पूरा तथ्यांक आइसकेको छैन ।
लघुवित्त मर्जको अवस्था के छ ? लघुवित्त मर्जरले कस्तो किसिमका सकारात्मक प्रभाव पार्दछन् ?
मर्जर भन्ने कुरा त्यति सजिलो छैन । तपाईंले देखिराख्नु भएकै छ । ठूलाठूला संस्थाहरु पनि मर्ज हुन सकिरहेका छैनन् । राष्ट्र बैंकको र हाम्रो चाहाना पनि मर्जर नै हो । अहिले ६७ वटा लघुवित्तहरु छन् । यसलाई घटाएर काम गर्न सकिने अवस्था त छ तर व्यवहारिकरुपमा यो समस्यालाई टुंग्याउन अलि कठिन नै भएको छ ।
सकारात्मक प्रभाव भनेको पुँजी ठूलो हुन्छ । नेटवर्क ठूलो हुन्छ । ब्रान्चहरु पनि घटाउँदा प्रशासनिक खर्च घट्छ । दोहोरोपना घट्छ। संस्थाहरुबीच आपसी तालमेल हुँदा कर्मचारीहरुमा पनि उत्साह आउँछ । आर्थिकरुपमा काम गर्न सजिलो पनि हुन्छ । चुनौतीहरु पनि उस्तै छन् । कतिपय अवस्थामा कर्मचारी व्यवस्थापनमा पनि समस्या हुन आउँछ । यिनीहरुलाई सकारात्मक रुपमा अघि लैजान सकियो भने मात्र मर्जरको अर्थ रहन्छ । नत्र परिणाम राम्रो नआउन पनि सक्छ । दुई प्लस दुई बराबर पाँच ल्याउन सकियो भने मात्र मर्जको अर्थ रहन्छ। दुई प्लस दुई बराबर चार मात्र हुने अवस्था आयो भने यसलाई राम्रो भन्न मिल्दैन ।
अहिले कति जति लघुवित्तहरु मर्जरमा गइसके ? केही तथ्यांक छ की ?
मर्जरमा त गइरहेका नै छन् । एक सय वटाभन्दा बढी लघुवित्तहरु थिए । अहिले ६७ वटामा आएका छन् भनेपछि विगत २-३ वर्षमा मर्जरमा त गएका छन् । यसको प्रभाव राम्रै पनि भएको छ । केही मर्जर हुने प्रक्रियामा पनि छन्। अब यो संख्यालाई पनि घटाउन सकिन्छ भन्ने पनि छ ।
राष्ट्र बैंकले थप २४ वटा लघुवित्तलाई मर्जरमा गएर १२ वटामा झर्न भनिसकेको छ । यो भयो भने ५५ वटा संख्यामा आउँछ । तर व्यवहारिक रुपमा यो कति सम्भव होला त्यो हेर्न बाँकी नै छ ।
पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै गएको छ ? लघुवित्त क्षेत्रमा तरलताको अवस्था के छ ?
तरलताको मारमा त लघुवित्तहरु छन् नै ।हामीले कर्जा रोक्नु पर्ने अवस्था आयो ।नयाँ कर्जा पनि रोकिए । यो भनेको समस्या नै हो नि। हाम्रो स्रोत भनेको वाणिज्य बैंकहरु नै हुन् । हामीले ठूलो मात्रामा ऋण वाणिज्य बैंकहरुबाटै लिइरहेका छौं । हामीले २६३ अर्ब ऋण वाणिज्य बैंकहरुबाटै ल्याएका छौं । हाम्रो ठूलो रकम पनि बैंकहरुमै बचत छ । त्यसले बैंकहरुमै तरलता अभाव हुँदा त्यसको असर लघुवित्तहरुमा पर्नु स्वभाविक नै हो नि । बैंकहरुले पैसा नदिने वित्तिकै हामी त्यसको मारमा पर्ने नै भयौं नि ।
अब अहिले तरलता अलि सहज हुँदै गएको भन्ने कुरा पनि आइरहेका छन् । विस्तारै सहज होला तर त्यसको अनुभूति हामीले गर्न सकेका छैनौं । अब यो महिनाको अन्त्यसम्ममा केही फरकपन आउला कि भन्ने छ ।
लघुवित्तले विदेशबाट ऋण ल्याउने कुरा कुन ढंगले अगाडि बढेको छ ?
विदेशबाट ऋण ल्याउने भन्ने कुरा त्यति सहज चाहिँ छैन । सम्भावना चाहिँ छ। अब यसका लागि विदेशीहरुले पत्याउनु पनि पर्यो । ब्याजदरको कुरा पनि छ । केही संस्थाले यसको प्रक्रिया पनि थालेका छन् । तर अहिले ल्याइसकेको अवस्था छैन ।
लघुवित्तमा डिजिटलाइजेसनको अवस्था कस्तो छ ?

डिजिटलाइजेसन नै अहिलेको प्रमुख आवश्यकता हो । मलाई त यो सपना हो जस्तो लाग्छ । लकडाउनका बेला लघुवित्तहरू सामाजिक र वित्तीय मध्यस्तकर्ता बने । हाम्रो सामाजिक संरचना र महामारीको असहज परिस्थितिले हामीलाई त्यस्तो बनायो । हामी गाउँमा जान्छौँ, समूह बनाउँछौँ, केन्द्रमा बैठक राख्छौँ, जनतासित दुःख, सुखका कुरा गर्छौं, उहाँहरूलाई प्रेरणा दिन्छौँ र प्रोत्साहन गर्छौं । यो हाम्रो सामाजिक मध्यस्थताको पाटो हो । त्यसपछि वित्तीय मध्यस्थताको पाटो छ, जुन अरूले पनि गर्छन् । सामाजिक मध्यस्थता भने हामीले गर्छौं, अरूले गर्नुपर्दैन ।
कोभिड आइसकेपछि सामाजिक मध्यस्थतामा समस्या भयो, एसएमएस, सोसल डिस्ट्यान्स, माक्स र स्यानिटाइजेसन, यी सबले वातावरण अर्कै भयो । सोसल डिस्ट्यान्स (सामाजिक दूरी) मा हामी गाउँमा जानै नसक्ने, सबै टाढा रहने, मान्छेदेखि मान्छेलाई डर लाग्ने अवस्था भएपछि कोभिडले माइक्रोफाइनान्सको सामाजिक मध्यस्थताको मुटुमा नै प्रहार गर्यो । त्यसैले हामी यसलाई ‘रिथिंक’, ‘रिडिजाइन’ गर्न सोच्नुपर्ने अवस्था आयो, त्यसको औचित्य बढ्यो ।
अहिले मानिसलाई वित्तीय संस्थामा ब्यालेन्स राख्नुपर्छ भन्ने परेको छ । तर, उहाँहरूसँग बैंकमा गएर घण्टौँ लाइनमा बसेर डिपोजिट गर्नलाई समय छैन । आधा घण्टाको दूरीमा गएर, यात्रा गरेर जम्मा गर्ने समय छैन । सेवा लिँदा पनि खर्चिने समय छैन । आखिर हाम्रा ग्राहक पनि मान्छे हुन्, उहाँहरूका आवश्यकता सीमित होलान्, साना होलान्, तर चाहना भने उही हो । उहाँहरूलाई पनि मेरो घरनजिकैबाट एटिएमबाट पैसा झिक्न पाए हुन्थ्यो, तिर्दा पनि डिजिटल माध्यमबाट तिर्न पाए हुन्थ्यो भन्ने चाहना होला । ग्राहकको त्यो चाहना पूर्तिका लागि हामी अगाडि बढ्नैपर्छ ।
मान्छेमा वित्तीय आवश्यकता एउटै हुन्छ, सानो र ठूलो मात्रै हो । कर्जा कसैलाई पाँच हजार चाहिएला, कसैलाई एक करोड, कसैलाई दश करोड, त्यति मात्र फरक हो । कसैलाई घरमै सेवा पाऊँ भन्ने चाहना हुन्छ । मलाई त्यस्तै लाग्छ भने मेरा ग्राहकलाई पनि त लाग्छ ! ग्राहकलाई सहज सेवा दिनकै लागि हामीले पहिलोपटक बाहिरबाट सफ्टवेयर ल्यायौँ, जसलाई हामी सिपिएस भन्छौँ । त्यसका लागि उपयुक्त हार्डवेयर पहिलोपटक हामीले नै प्रयोग गरेका हौँ । अरूले कतै कतै ‘पाइलटिङ’ मात्रै गर्दै आएका थिए ।
हामीले हाम्रा ७२ वटै शाखाका दुई–तीन सय अफिसरलाई ट्याबलेट बैंकिङमार्फत पेपरलेस ट्रान्जेक्सनको व्यवस्था गर्यौँ । त्यसपछि हामीले ग्राहककेन्द्रित मोबाइल एप्प ल्यायौँ । कतिपय ग्राहकसित पासबुक हुँदैन । यो मोबाइल एपले आफ्नो बजत कति छ, कर्जा कति छ, तिर्नुपर्ने कति छ, यी सबैको जानकारी हुने भयो । यसले ग्राहकलाई निकै सजिलो बनाएको छ । अब पनि यदि हामीले डिजिटल सेवा दिन सकेनौँ भने हामीकहाँ बचत गर्नुको औचित्य पुष्टि हुन सक्दैन । अहिले सबैजसो स्थानीय तहमा वाणिज्य बैंकका शाखा छन् । हामीले १० बजेदेखि ५ बजेसम्म अफिस खोल्नुपर्ने हुन्छ । त्यसअतिरिक्त समयमा पैसा झिक्नुपर्यो भने हामीसित एटिएम छैन तर त्यहीँको वाणिज्य बैंकसित छ भने हाम्रा ग्राहक पनि त्यतै जान्छन् । त्यसले लघुवित्तलाई डिजिटलाइजेसनको आवश्यकता छ ।
कोभिड–१९ काे तेस्रो लहर आएको छ । अन्य महामारी तथा विपद् आए । मानिसमा सुरक्षाको पनि उत्तिकै जोखिम छ । सुरक्षाको हिसाबले पनि पेपरलेस, क्यासलेस इकोनोमीतर्फ लानु आवश्यक छ । अहिले तरकारी पसलदेखि भाडाका टेम्पोसम्म क्युआर कोड गइसकेको अवस्था छ ।
ती भनेका हाम्रै ग्राहक हुन्, हाम्रै लक्षित समूह हुन् । तिनलाई डिजिटल बनाउन वाणिज्य बैंकको मुख ताक्नु आवश्यक छैन, हामीले नै सुरुवात गर्नुपर्छ । हाम्रा ग्राहकले विद्युतीय भुक्तानी सेवाकै लागि वाणिज्य बैंकमा खाता खोलिरहनु नपरोस्, त्यसतर्फ हामीले काम गर्नुपर्छ ।





