January 10th, 2022

देश द्रुत गतिमा विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्न आवश्यक: डा.भट्टराई

बैंकिङ खबर/पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय व्यापार सङ्घको १७ औँ साधारणसभा एवम् नवौँ अधिवेशनको सोमबार उद्घाटन गर्दै डा. भट्टराईले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए ।

कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उनले उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले कर्मचारीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने उनले बताए ।

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच एकापसमा सहकार्य हुन नसक्दा मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताए ।

पूर्वसचिव बाँस्कोटाले चीनसँग व्यापार गर्ने व्यवसायीले नाकामा ठूलो समस्या भोग्नुपरेको भन्दै व्यापार सहजको वातावरण निर्माणका लागि सरकारले पहल चाल्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वउपाध्यक्ष कमलेश अग्रवालले व्यवसायीलाई आफ्नो व्यवसायबाट पलायन हुन नदिन सरकारले नयाँ नीति ल्याउनुपर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]