
बैंकिङ खबर । सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुगेको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब पुगेको छ।
यसअवधिमा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको निर्यात भए पनि आयात भने आठ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ। गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ। गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो।
उच्च आयातका कारण मुलुको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा संचिती पनि घट्दै गएको छ। उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधान, श्रृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ।
वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी
वैदेशिक व्यापार चालु आर्थिक वर्षको मंसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो। यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ।
चालु आवको मंसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्यात भएको छ। कुल निर्यातको यो ४८ प्रतिशत हिस्सा हो। उच्च आयात हुने भन्सार कार्यालयमा वीरगञ्जपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन्। यसैगरी निर्यातमा पनि वीरगञ्ज भन्सार कार्यालयपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् ।