Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

जाडाे बढेसँगै विद्युत माग ह्वात्तै बढ्याे, काठमाडौं उपत्यकामा मात्रै ९० मेगावाट माग वृद्धि

२०७८ पुष ४ गते

 

बैंकिङ खबर।

विद्युतकाे माग तीन सय मेगावाटले वृद्धि भएको छ। जाडो बढेसँगै विद्युतीय उपकरणको प्रयोग र खपत बढाउन नेपाल विद्युत प्राधिकरण सुरु गरेको अभियानका कारण आन्तरिक माग ह्वात्तै बढेको प्राधिकरणले दाबी गरेको छ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ। काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ। गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ।

प्राधिकरणको तथ्यांकअनुसार विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको हाे। मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५ सय ३९ मेगावाट थियो। यो माग गत वर्षको सोही दिनको १२ सय १७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो। यस आधारमा विद्युतको पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६ दशालव ५ प्रतिशत वृद्धि भएको छ।

यस्तै मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरूबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो। सोही दिन पिक समयमा पनि चार मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो। ऊर्जाका मागका आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो। यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो। ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशत बढी हो।

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो।

आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति प्राधिकरणले लिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएकाे बताए । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ। दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ।