Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकहरूले ब्याजदरमा पुनर्विचार गर्न उद्योगीको माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

२०७८ पुष ४ गते

 बैंकिङ खबर।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ। परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ। अत्यन्तै गैरजिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर बृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए।

उनले बैंकको ज्यादतीको विषयमा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन्। उद्योगी व्यवसायीलाई कारबाही गर्ने सरकारले बैंकहरूका विषयमा भने मौन देखिएको आराेपसमेत उनले लगाए। मुलुकका बैंक राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंक प्रेरित भएको बताए।

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए। बैंकमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले ब्यापारमा असर परेको उनले बताए।

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा वस्तुको अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ।

उद्योगीले बैंकको लगानीकर्ता र उद्योगको लगानीकर्ता फरक-फरक हुनुपर्ने माग पनि गरेका छन्। परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था लथालिङ्‍ग खालको हुने बताए।

बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्द नै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको अभाव आपूर्तिमा समस्या कच्चा पदार्थको अभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन्। यसबाट रोजगारी र सरकारको राजस्वमा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ।न्युज कारखाना