
बैंकिङ खबर।
पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ।
डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नति तथा आर्थिक सोच र विचारहरु उल्लेख गरेका छन्। पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ साल यता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए।
डा. नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको टिप्पणी पनि गरे।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा बीपी कोइरालाले आर्थिक विषयमा राखेको विचारलाई समेटिएको छ। २०३४ देखि २०३९ सालसम्म बीपीसँग गरेको संगतका साथै पाल्पा बहुमुखी क्याम्पस, चितवन, बुटवल, कपिलवस्तुलगायतका जिल्लामा गरेको भाषण र अन्य सोधहरूको अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको लेखक नेपालले जानकारी दिए।
कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिन सक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए। उनले पुस्तकमा भनेका बिपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए। सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे।
सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताए।