
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशनअफ नेपालको ४५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीतिनियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए । उनले भने, ‘यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ ।’ उनले भने, ‘यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,’
वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथ साथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताए । ‘अहिले मुलुकभित्रदुईपांग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तारसँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाकालागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने ।
विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादन मुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।
उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गरे । सवारी साधनविलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए । उनले कोभिढ–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताए ।