Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

विदेशबाट ५० ग्राम गहना ल्याउने बाहानामा सुन तस्करी बढ्दै, अहिलेसम्म कति भयाे सुन तस्करी?

२०७८ मंसिर १७ गते

  • सन्दिप वि.क

पछिल्ला केही दिनयता विदेशबाट ५० ग्राम सुनका गहना ल्याउने बाहानामा सुन तस्करी बढ्दै गएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा तीन दिनमा ४७ किलो भन्दा बढी सुन नेपाल भित्रिएको छ। ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलबिना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा सुन तस्करी हुन थालेको हो।

विमानस्थल भन्सार कार्यालयका अनुसार सोमबार २१ किलो, मंगलबार ११ किलो र बुधबार १५ किलो १६ ग्राम सुन नेपाल भित्रिएको छ। मंगलबार २२१ जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका थिए।

सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भएको थियो। उनीहरुले प्रतिव्यक्ति ५०–६० ग्रामसम्म सुन ल्याएको पाइएको थियो।

यस्तै मंगलबार उनीहरुबाट ११ किलो सुन बरामद भएको थियो। जसमध्ये १४७ जना यात्रुले ६ किलो ९८२ ग्राम सुनको भन्सार महसुल तिरे भने बाँकी चार केजी सुन भन्सार विभागले बरामद गरेको छ। उक्त परिमाणमा भित्रिएको सुनबाट ६७ लाख ३० हजार ९१२ रुपैयाँ राजश्व संकलन भएको समेत भन्सार कार्यालयले जनाएको छ।

बुधबार ३२६ जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित नेपाल भित्रिएका थिए। उनीहरुको साथमा १५ किलो १६ ग्राम सुन थियो। जसमध्ये उनीहरुले १३ किलो १२ ग्राम सुनको भन्सार महसुल तिरे भने बाँकी सुन भन्सार विभागले बरामद गरेको छ ।

उक्त परिमाणमा भित्रिएको सुनबाट एक करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ।

तस्करीविरुद्ध कारबाही अभियान
भन्सार कार्यालय र प्रहरीले सुन तस्करीविरुद्ध कारबाही अभियान थालेको छ। अर्थ मन्त्रालयकै निर्देशनमा सुन तस्करीविरुद्ध भन्सार र प्रहरीले सुन सक्रियता बढाएका हुन्। भन्सार कार्यालयका अनुसार ५० ग्रामसम्म सुनका गहना भन्सारबिना नै ल्याउन सकिने सुविधा छ। तर त्यसको व्यापक दुरुपयोग हुन थालेपछि अभियान चलाइएको हो।

यसरी नियन्त्रणमा लिइएकालाई भन्सार कार्यालयले प्रति १० ग्राम नौ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिराएको छ।

भन्सार कार्यालयले हालै यससम्बन्धी सूचनासमेत जारी गरेको छ । हरेक वर्ष यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तुसम्बन्धी आदेश जारी हुन्छ । जसअनुसार गत १५ जेठमा जारी आदेशअनुसार ५० ग्रामसम्म सुन निःशुल्क ल्याउन पाइने र त्यसभन्दा धेरै दुई सय ग्रामसम्म ल्याउँदा भन्सार तिर्नुपर्ने उल्लेख छ।

विशेषगरी संयुक्त अरब इमिरेट्सबाट फर्किने यात्रुलाई बोकाएर सुन तस्करी हुने गरेको छ । उनीहरूलाई थोरै खर्च दिने र ५० ग्रामसम्म सुन बोकाउने गरिएको छ । त्यस्तो सुन विमानस्थल आसपास संकलन हुने गरेको छ ।

सुन तस्करी कहिले कति?
नेपालमा अवैध बाटो हुँदै सुनको आयात पनि उच्च भएको हुन सक्ने अनुमान गरिएको छ । बेला बेलामा तस्करीको सुन बरामद भएका खबर आएसँगै यस्तो सुन नेपाली बजार भित्रिएको अनुमान गरिएको हो । बरामद भएको सुन धेरैजसो चीनसँग सम्पर्क जोड्ने प्रमुख उत्तरीनाका तातोपानी हुँदै भित्रिएको पाइएको छ। पछिल्ला दिनहरुमा सुन तस्करहरुको ट्रान्जिट प्वाइन्ट बन्दै आएको तातोपानी नाकामा अहिले यस्ता घटनाहरु सुन्नमा केही कमी आएको भएपनि यो क्रम रोकिएको भने छैन ।

सुन तस्करी केही घटेको अनुमान लगाइएको भएपनि यस्तो सुन बरामद नहुनुमा अरु पनि कारण हुन सक्छ । खासमा अवैध सुन भित्रिन छोडेको छैन। यस्तो सुनको सुराकी दिने र पक्राउ गर्ने व्यक्ति र समूहलाई सरकारले प्रोत्साहन बापत विगतमा ३० प्रतिशत भन्दा धेरै दिइने गरिएको थियो। अहिले त्यस्तो प्रोत्साहन बापतको पारिश्रमिकमा सरकारले कडाइ गरेको छ। त्यसैले अवैध सुन बरामद हुन कम भएको प्रहरीले अनुमान गरेको छ।

विगतमा तस्करहरुले चीनको खासाबाट भित्रने विभिन्न सामान र कपडाहरुमा लुकाएर नेपाल ल्याउने गरेको सुन प्रहरीले विभिन्न स्थानबाट बरामद गर्ने क्रमसँगै तातोपानी सुन तस्करहरुको ट्रान्जिट प्वाइन्टको रुपमा चिनिदै आएको थियो। ०७१ मंसिर महिनादेखि माघसम्म मात्र झण्डै ४५ किलोग्राम भन्दा वढी अवैध सुन तातोपानीबाटै बरामद भयो। पुरानो इतिहास हेर्ने हो भने तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रविसेबाट ०५८ सालको पुस २३ गते पहिलो पटक १ किलो सुन प्रहरीले बरामद गरेको थियो। त्यसयता सोहि नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा २५ भन्दा धेरै पटक बरामद भइसकेको छ। त्यस नाकाबाट ०७१ माघसम्म करिव २ सय किलो सुन अवैध रुपमा नेपाल ल्याईंदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। ०७१ पछि अहिलेसम्म थप २ सय ५० केजी सुन बरामद भएको छ।

तातोपानीमा मात्र होइन, पछिल्ला दिनहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सुन तस्करी हुने क्रम वढेको छ । यहाँबाट ०७२ माघ २१ गते १२ केजी सुन बरामद गरिएको थियो। ०७३ पुस २१ गते बरामद भएको साँढे ३३ केजी सुनकाण्ड त अझै पनि सेलाएको छैन । यसभित्र कसको र कति मिलेमत्तो छ भन्ने अझै छानबिनकै क्रममा रहेको छ। उता ०७४ भदौ १९ गते राजधानीबाटै बरामद भएको अहिलेसम्मकै ठूलो परिमाण ८८ केजी सुनको पनि अझै छानबिन सकिएको छैन । सो दिन राजधानीको क्षेत्रपाटीबाट ८८ केजी अवैध सुनसहित बा १७ च ६४२७ नं. को गाडीबाट चालक मनोज अधिकारी पक्राउ परेका थिए। सो सुन रसुवाको केरुङ्गनाकाबाट ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) ले १५ किलो सुनसहित सोहि भदौ १५ गते सात जनालाई पक्राउ गरेको थियो । चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये १५ किलो मात्रै बरामद भएको थियो। सामाखुसीबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिइयो।

यसरी पटक पटक सुन तस्करीका घटनाहरु भइरहँदा पनि यो श्रृंखला रोकिएन र रोकिएको छैन अहिले पनि । यी त मुख्य मुख्य घटनाहरु हुन् । अरु सानातिना घटनाहरु त कति भए कहिले भए लेखाजोखा नै छैन। तातोपानी र केरुङ्ग नाकालाई सुन तस्करहरुले ट्रान्जिट प्वाइन्टकै रुपमा लिने गरेको प्रष्टै छ ।

अरु कसैको मालवस्तु नल्याऊः विभाग
आफन्तले ल्याइदिने मालसामानमा अन्य कुनै अवैध वस्तु लुकाइको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन भन्सार विभागले सूचनामार्फत अनुरोध गरेको छ।

विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याउन पाउँदैनन्।

के के सामान ल्याउन पाइन्छ?
भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) मा यात्रुले विदेशबाट आउँदा आफ्नो साथमा ल्याउन पाउने सामान बारे स्पष्ट व्यवस्था गरेको छ । जुन निम्न अनुसार रहेको छ ।

–व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म
-चाँदीको गहना पाँच सय ग्रामसम्म
-एक लाख रुपैयाँसम्मको जवाहरत जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया
-ट्याबलेट, ल्यापट, डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एक/एक थान
-सात किलोसम्म खाद्य सामग्री
-एक लिटरसम्मको एक बोतल मदिरा
-लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान
-उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि
-शारीरिकरुपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान
-पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान । जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, खेलाडीको खेलकुदसम्बन्धी फुटबल, भलिबल र ब्याटमिन्टन सेट ।

कुन सामान ल्याउन पाइँदैन?
-विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल बुझाई लैजान पाउने व्यवस्था रहेको छ । सोभन्दा बढी परिमाणमा सुन ल्याएमा जफतसमेत हुनेछ ।
–ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दस ग्राम नौ हजार पाँच सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दस ग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ ।
–विदेशबाट फर्केका यात्रुले सुनको गहनाको हकमा भने ५० ग्रामसम्म ल्याउँदा कुनै शुल्क लाग्दैन। ५० ग्रामभन्दा बढी एक सय ग्रामसम्म ल्याएमा प्रति दश ग्राम १२ हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महसुल बुझाई लैजान सक्नेछन्।

व्यक्तिगत प्रयोजनका निम्न सामान भन्सार महसुल तिरी ल्याउन सक्छन्:
-टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक/एक थान
-शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स धेरैमा १५ थान
-घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै: मिक्सचर, जुसर, सिलाई, मेसिन, कुकर जस्ता सामान दुई/दुई थान
-दस किलोसम्म खाद्य परिकार
-व्यवसायिक पेशामा लागेका यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान
-यी सामान बाहेक घरमा आवश्यक पर्ने वस्तु बढीमा दुई/दुई थान ।

राजश्व तिर्ने ट्रेण्ड बढ्दो छः प्रमुख प्रशासक भट्टराई
यता विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराई पछिल्लो समय बढी सुन ल्याउने व्यक्तिले राजश्व तिर्ने क्रम बढेको बताउँछन्। बैंकिङ खबरसँग कुरा गर्दै उनले भने, ‘ऊसँग काँचो सुन देखियो। सामान्य छलछाम गर्ने मनाशय राखेको छ। गहना लुकाएर ल्याउने दुष्प्रयास गरेको छ भने भन्सार राजश्व महसुल तिर्नुहोस् भनेर राम्रोसँग भन्छौं। तर लुकाएर ल्याएको छ भने जरीवाना गर्ने र जेलमा पठाउँछौं। त्यो दुषित मनाशय भयो । त्यस्तोलाई सहन सकिँदैन। अरु सबै यात्रुहरुलाई राम्रोसँग सम्झाएर हामीले यति राजस्व लाग्छ भनेर भनेका छौं।’

प्रमुख प्रशासक भट्टराईले शुरुका दिनमा तिर्दैनौ भनेर अवरोध गरे पनि त्यसपछि लगत्तै राजश्व तिर्ने बढेको बताए। उनले भने, ‘तीन दिनको सिनारियो हेर्दा राजश्व तिर्ने ट्रेण्ड बढ्दो छ।’

यस्तै उनले पछिल्लो समय सुष्मरुपमा अध्ययन गर्दा ५० ग्राम गहना ल्याउने सुविधाको दुरुपयोग गरेर बढी सुन ल्याउने गरेको पनि बताए। उनले भने, ‘हामीले मंसिरको पहिलो साता नै सूचना निकालेर सचेत गराएका थियौं, हाल तीन सिफ्टमा करिब ५० कर्मचारी सामानको निगरानीका लागि खटाएका छौं।’

वस्तु ल्याउन पाइने/ नपाइने सम्बन्धी सरकारी नियम यस्ताे छ: