Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थतन्त्रको ठुलो हिस्सा राजधानी केन्द्रीत : बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत

२०७८ मंसिर १५ गते

बैंकिङ खबर । बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत देखिएको छ । अधिकाँस कारोबार, व्यापार व्यबसाय तथा उद्योग र लगानी समेत यसै प्रदेशमा हुने गरेको छ । राष्ट्र बैंकको एक अध्धयन प्रतिवेदनले यस्तो देखाएको हो । यस प्रदेशको जनसंख्या अन्य प्रदेश भन्दा बढी रहेको, संघीय राजधानी यसै प्रदेशमा रहेको, अधिकाँश उद्योगहरु यसै प्रदेशमा रहेको जस्ता कारणले अन्य प्रदेशभन्दा यस प्रदेशमा उत्पादन र रोजगारी उच्च रहने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहेकोछ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु.१६ खर्ब ४ अर्ब पुगेकोअनुमान छ । समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, १०.८ प्रतिशत र ७७.४ प्रतिशत रहेको छ । विभागको प्रारम्भिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १६.८ प्रतिशत, ३०.५ प्रतिशत र ४६.७ प्रतिशत रहेको छ ।

अन्तर प्रदेश तुलना
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशहरुको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०७७/७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.० प्रतिशत रहेको छ । वृहत आर्थिक वर्गीकरण अनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश न.ं १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.० प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ०.९ प्रतिशत रहेको छ । यसैगरी थोक तथा खुद्रा व्यापार; मोटर गाड़ी तथा मोटर साईकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रको प्रमुख आर्थिक सूचकहरूमा बागमती प्रदेशको हिस्सा क्रमशः ५६.५ प्रतिशत, ४७.२ प्रतिशत, ६७.६ प्रतिशत र ६३.५ प्रतिशत रहेको छ (तालिका १.१) । आर्थिक वर्ष २०७७/७८ मा ११८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले रु.१५६.६ अर्बको कुल पुँजी लगानीमा २०३ नयाँ उद्योग दर्ता भएका छन्। जसमध्ये४३.८ प्रतिशत उद्योग बागमती प्रदेशमा दर्ता भएको देखिन्छ भने कर्णाली प्रदेशमा उद्योग दर्ता भएको देखिदैन । कुल रोजगारीको ४०.७ प्रतिशत रोजगारी बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेश ५.१ प्रतिशत रहेको छ ।