२०७७ चैत्र १० गते

सेवाग्राहीको अपेक्षा शतप्रतिशत पूरा गर्छौं  : प्रकाश पौडेल, सिइओ शाइन रेसुंगा डेभलपमेन्ट बैंक

प्रकाश पौडेल, सिइओ – शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंक २०६५ सालमा रूपन्देहीको बुटवलमा साइन डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट तीन जिल्ला कार्यक्षेत्र भएर स्थापना भएको बैंक हो । स्थापनाको करिब चार वर्षपछि गुल्मी जिल्लाको एक जिल्ला कार्यक्षेत्र भएको रेसुंगा विकास बैंक लिमिटेडसित मर्ज भएर २०६९ सालमा शाइन रेसुंगा बैंक लिमिटेड बनेको हो । रेसुंगालाई मर्ज गरिसकेपछि हामीले तीन जिल्ला कार्यक्षेत्रबाट १० जिल्लामा विस्तार ग¥यौँ । तत्पश्चात् हामीले प्युठान जिल्लामा केन्द्रीय कार्यालय भएको गौमुखी विकास बैंकलाई मर्ज ग¥यौँ । त्यसको डेढ वर्षपछि बाँके जिल्लाको नेपालगन्जमा केन्द्रीय कार्यालय भएको भार्गव विकास बैंक र रूपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय भएको पूर्णिमा विकास बैंकलाई आफूमा गाभेर हामीले राष्ट्रियस्तरको बैंक बन्ने आधार खडा ग¥यौँ । यसरी हामी १२ वर्षको यात्रामा तीन जिल्ला कार्यक्षेत्रबाट राष्ट्रियस्तरमा प्रवेश गरेका हौँ ।

करिब डेढ वर्षअघि हामीले राष्ट्रियस्तरको लाइसेन्स पाएका छौँ । राष्ट्रियस्तरमा सेवाविस्तार गर्ने क्रममा कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएकाले केही समयपछि मात्र हामी राष्ट्रिय सञ्जाल विस्तारमा अगाडि बढेका छौँ । हामीले भर्खरै मात्र पोखरामा सेवाविस्तार ग¥यौँ । केही दिनमा धनगढीमा शाखा उद्घाटन हुँदै छ । काठमाडौंमा हामीले एकैपटक पाँचवटा शाखा सञ्चालनमा ल्याएका छौँ । यससँगै अब हाम्रो सञ्जाल ८० वटा शाखामा विस्तारित भएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा आफ्नै भवनमा छ । स्थापनाको १२ वर्ष पूरा गरेर १३ वर्ष प्रवेशको अवसरमा ११ फागुनमा हामी आफ्नै भवनमा सरेका हौँ ।

हामी पक्कै पनि २०६५ सालमा एउटा सानो वित्तीय संस्थाका रूपमा स्थापना भएका थियौँ । त्यतिवेला केन्द्रीय बैंकको वित्तीय पहुँच वृद्धि नीतिअनुरूप सानो चुक्ता पुँजीमा (एक करोड) र एक जिल्ला कार्यक्षेत्र भएर पनि बैंक स्थापना हुन्थे । स्थापनाकालमा हाम्रो चुक्तापुँजी मात्र ६ करोड थियो । त्यो अवस्थामा वित्तीय पहुँच विस्तार गर्न हामीले विशेषगरी ग्रामीण बैंकिङमा धेरै काम ग¥यौँ । कुनै वेला यस्तो थियो कि हामी सम्पूर्ण रूपमा ग्रामीण क्षेत्रमा केन्द्रित थियौँ । हाम्रा १५–२० वटा मात्र शाखा भएका वेला सबैजसो शाखा पहाडी जिल्लामा थिए । हामी अत्यन्त ग्रामीण क्षेत्रमा सेवा दिइरहेका थियौँ । त्यस्ता स्थानमा वित्तीय पहुँच वृद्धि गर्न हामीले आयको माध्यम नै नभएका व्यक्तिलाई उद्यमशील बनाउन पुँजी उपलब्ध गराउने काम ग¥यौँ । लघुउद्यमको माध्यमबाट उनीहरूको आय सिर्जना गर्ने प्रयास ग¥यौँ ।

आज १२ वर्षको यात्रा पूरा गरिसक्दा ६ करोडबाट सुरु भएको बैंकको चुक्तापुँजी चार अर्बभन्दा माथि छ । तीन जिल्ला कार्यक्षेत्रबाट हामी राष्ट्रियस्तरमा छौँ । यो अवधिमा ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरेका छौँ र ३० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छौँ । अहिले हाम्रो ग्राहकसंख्या चार लाखभन्दा बढी छ । यो जगमा हामी आज काठमाडौं प्रवेश गरेका छौँ ।

हामी सधैँ भन्छौँ, बैंक सबै ‘स्टेकहोल्डर’को हो । यो बैंकका सेयरधनी हुनुहुन्छ, निक्षेपकर्ता हुनुहुन्छ, ऋणी हुनुहुन्छ, बैंक रहेको समुदाय छ । यो बैंक यी सबै स्टेकहोल्डरको हो । हामी सबै स्टेकहोल्डरलाई यो बैंकको स्वामित्व लिइदिनुहुन तथा अपनत्वको भावना प्रगाढ राख्न अनुरोध गर्दछौँ । विगतमा यहाँहरूले लिनुभएको स्वामित्व र हामीमाथि देखाउनुभएको विश्वासकै कारण हामीले १२ वर्षको यो चुनौतीपूर्ण यात्रा पूरा गरेर १३औँ वर्षमा काठमाडौंमा प्रवेश गरेका छौँ । हामी हाम्रा स्टेकहोल्डरसित उत्तम प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । ग्रामीण क्षेत्रमा रहेर व्यापार गरिरहँदा हामीसित धेरै सीमितता थिए, ग्राहकलाई सेवाप्रवाह गर्ने कुरामा हामीसित सीमितता थिए, तर अब हामी ५० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि हुने काठमाडौंमा प्रवेश गरेका छौँ । यसो भनिरहँदा हामी केही नयाँ काम भने गरिरहेका छैनौँ । एउटा बैंकरले, एउटा बैंकले जे गर्नुपर्ने हो, हामी त्यही मात्र गरिहेका छौँ र गर्छौं, त्योभन्दा बाहिर गएर हामी केही गर्दैनौँ । वित्तीय सुशासन, इथिकल बैंकिङ, समावेशी बैंकिङ र चुस्त–दुरुस्त सेवाप्रवाहमा हामी खरो उत्रिने प्रयास गर्छौं । त्यही प्रतिबद्धताका साथ हामी काठमाडौंसम्म आएका छौँ । हाम्रो यो अभियानमा यहाँहरूको साथ र सहयोग निरन्तर रहने कुरामा हामी विश्वस्त छौँ ।

प्रतिस्पर्धात्मक बैंकिङको वातावरणमा हामी ग्राहकवर्गलाई वित्तीय सुशासन र यहाँहरूले खोजेजस्तै सेवा दिनेछौँ, बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा म यो प्रतिबद्धता व्यक्त गर्दछु । एउटा विकास बैंकबाट यहाँहरू जे अपेक्षा राख्नुहुन्छ, त्यो शतप्रतिशत पूरा गर्न हामी प्रतिबद्ध छौँ । यहाँहरूको अपेक्षा पूरा गर्न हामी हरेक समय कटिबद्ध छौँ । यो बैंकको विकासमा प्रत्यक्ष, परोक्ष रूपमा सहयोग पु¥याउनुहुने सबैमा हार्दिक कृतज्ञाता ज्ञापन गर्दछु र भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।

काठमाडौंमा पाँच शाखा विस्तारका क्रममा पौडेलद्वारा व्यक्त  विचारमा आधारित