Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बिचार

“कोरोनामुक्त अर्थतन्त्र निर्माणमा हामी सक्रिय छौ”

२०७७ मंसिर १७ गते

विष्णु प्रसाद पौडेल (अर्थमन्त्री)

कोरोना माहामारीका कारण हाल हाम्रो अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । दिनानुदिन फैलदै गइरहेको सङ्क्रमण बढ्न नदिन हामी सबैले होशियारी अपनाउँदै आर्थिक गतिविधिमा संलग्न हुन जरुरी छ । कोभिडले गर्दा स्वास्थ्य क्षेत्रको खर्चमा वृद्धि भएको छ । यसरी आर्थिक गतिविधिमा कमी आउँदा राजश्व सङ्कलनमा दवाव परेको छ तथापी जनताको स्वास्थ्य परीक्षण र उपचारमा लाग्ने खर्चमा कुनै कमी हुन नदिन हामी प्रतिवद्ध छौ । भाइरसको सङ्क्रमण, यसको न्यूनीकरण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीले गर्दा आर्थिक क्रियाकलाप शिथिल भयो । जसको कारण आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्थाको सिर्जना भएको छ । यस्तो अवस्थामा रोजगारीका लागि निर्माण व्यवसायीहरूलाई हामीले अपिल गर्दैछौ भने बेरोजगारहरूलाई आफ्नो क्षमता विस्तार गरेर उपलब्ध भएका रोजगारीमा संलग्न हुन अनुरोध गर्दछौ । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम एवं सीप विकास तालीमहरूमा सहभागी भइ सहुलियत कर्जाको सदुपयोग गरी स्वरोजगार हुन अनुरोध गर्दछु । यसका अलावा समग्र अर्थतन्त्र सकसमा परेको अवस्थामा अर्थतन्त्रलाई गति दिन ६ वटा क्षेत्रमा जोेड दिन सकिन्छ ।
१. बजेटको प्रभावकारी कार्यान्वयन ।
२. पूँजीगत खर्चको बढोत्तरी
३. चालु खर्चमा मितव्ययिता
४. कोभिड– १९ बाट प्रभावित विपन्न वर्गलाई राहत
५. अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग
६. वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन ।

यस बाहेक पनि हामीले दरीलो अर्थतन्त्रको लागि गर्नुपर्ने कामहरु धेरै छन् । तर अहिलेको विषम परिस्थितिमा यति मात्र गर्न सक्यौ भने पनि अर्थतन्त्रको पुनरउत्थानको लागि ठूलो टेवा मिल्न सक्छ । हामीले भूकम्प र नाकाबन्दीको सामना गरीसकेका छौ । भूकम्पपछिको पुनर्निर्माणमा राम्रो उपलब्धि समेत हासिल गरेका छौंँ । त्यस समयको उपलब्धीले अब पनि गर्न सक्छौ भन्ने हौसला प्राप्त भइरहेको छ । कोरोनाको प्रभाव र असर बहुआयामिक भएकाले खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा तापनि यसबाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही समय लाग्ने भएतापनि यस युद्धलाई पनि सजिलै पार गर्न सकिनेछ ।
संक्रमणकै बिच पनि अर्थतन्त्रलाई राहत दिनका लागि कोरोनाबाट प्रभावित व्यवसायहरूका लागि सहुलियतपूर्ण कर्जा र पुनकर्जाको कार्यान्वयन शुरु गरेका छौ । अर्थतन्त्रको पुनरउत्थानका लागि के गर्न सकिन्छ भन्ने बारे सम्बन्धित निकायका विज्ञहरुसँग छलफलमा जुटेका छौ । यसबारे अझ विस्तृतमा समीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्ने हाम्रो लक्ष्य छ । यस्तै, बजेट र मौद्रिक नीतिले अबलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पनि हामीमा छ ।

(कुराकानीमा आधारीत)