२०७७ बैशाख ४ गते

विकास बैंकहरुले सुरक्षित तवरले शाखा खोलेर सेवा दिइरहेका छन् – गोविन्द ढकाल

बैंकिङ खबर । कोरोना संक्रमणको प्रभावले विश्वव्यापी रुपमा अर्थतन्त्रप्रति धेरैको चिन्ता जागृत हुन थालेको छ । चैत्र दोस्रो सातादेखि सुरु भएको लकडाउन मुलुकभर जारी छ । विश्वनै यतिवेला लकडाउनको अबस्थामा छ । यो अबस्थामा पनि बैंकिङ तथा वित्तीय संस्थाहरुले सावधानीपूर्वक सेवा सूचारु राखेका छन् । कोरोना प्रभाव र लकडाउनले वित्तीय क्षेत्रमा पार्ने प्रभावका बारे डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालसँग बैंकिङ खबरका लागि सहकर्मी रुपा कोइरालाले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

कोरोनाको संक्रमण र लामो समयको लक डाउनले विकास बैंकहरुलाई कस्तो प्रभाव पारेको छ ?
कोरोना संक्रमणको प्रभाव विश्वभरि नै परिरहेको छ । विकास बैंक, कमर्सियल बैंक वा फाइनान्स कम्पनी भन्दा पनि समग्र अर्थतन्त्र नै प्रभावित भएको अबस्था हो । तत्कालको समयमा भन्दा पनि यसको प्रभाव अलि पछि बढी पर्ने देखिन्छ । जसका कारण विकास बैंकहरु पनि पूर्ण रुपमा प्रभावित भएका छन् ।

विकास बैंकहरुले पनि कार्यालय खोलेर वित्तीय सेवा दिइरहेका छन् नि ?
विकास बैंकहरुले आफ्ना स्कीमहरु संचालन गरि रहेका छन् । अहिले त्रैमास अन्त्य र राजश्व संकलनको समय सकिएको छ । क्लियरिङ सेवाहरु संचालीत छन् । हरेक ठाउँमा केही शाखाहरु मर्फत कार्यालय संचालीत छन् । यसबाहेक एटएएम लगायतका डिजिटल कारोबार पूर्ण रुपमा संचालीत छन् । त्यसमा पनि विकास बैंकको एटिएम संख्या अलि कम भएका कारण सुरक्षित तवरले शाखा नै खोलेर सेवा दिइरहेका छन् ।

आर्थिक गतिविधिमा आएको मन्दीका कारण ऋणीहरुको कर्जा तिर्न सक्ने क्षमतामा कमी आई कर्जा जोखिम बढ्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
बैंकिङ क्षेत्रमा कोरोना संक्रमण र लकडाउनको प्रभाव स्पष्ट रुपमा देखिन अलि समय लाग्छ । होटल व्यवसाय, टुरिजम, यातायात सबै ठप्प भएको हुनाले उनीहरुलाई कर्जाको साँवा व्याज तिर्न धेरै गाह्रो परिरहेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार नै हामी चल्नुपर्छ । नेपाल राष्ट्र बेंकले जेजस्ता व्यबस्थाहरु संचालन गरेर नीतिहरु त्र्जुमा गर्छ त्यसै अनुसार हामी अगाडि बढ्ने छौं । अहिले यसबारे अध्ययन समिति मार्फत राष्ट्र बैंकले आर्थिक प्रभावको अध्ययन गरीरहेको हुँदा पछि नै यसको अबस्था थाहा हुन्छ ।

 

बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । व्यवसायीहरु ऋणको व्याजदर घटाउन माग गरिरहेका छन् । विकास बैंकहरुको व्याजदरको अवस्था के छ ?
विकास बैंकहरुले पनि व्याजदर घटाएका छन् । व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित भएको छ । बचतमा छ प्रतिशत व्याज दिने निर्णय भएको छ । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।

कोरोनाबाट अर्थतन्त्र जोखिममा रहेको समयमा नयाँ गभर्नरको नियुक्ति भएको छ । उहाँबाट विकास बैंकहरुका अपेक्षा केके छन् ?
महाप्रसाद अधिकारी गभर्नरको रुपमा मात्रै नयाँ हुनुहुन्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा उहाँले राम्रोसँग बुझ्नुभएको छ । उहाँलाई हामीले बैंक तथा वित्तीय संस्थाको परिवारको रुपमा हेरिरहेका छौँ । उहाँ डेपुटी गभर्नर हुँदा नै बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्नुहुन्थ्यो । सबैको कुरा सुन्ने र इन्टरयाक्ट गर्ने उहाँको बानी छ । यसले गर्दा भोलीका दिनमा हामीलाई काम गर्न अझ सजिलो हुन्छ र समग्र वित्तीय क्षेत्रमा नै यसको पोजिटिभ रिजल्ट आउँछ भन्ने विश्वास लिएका छौँ । अहिले समग्र अबस्था कोरोनाको प्रभाव र लकडाउन भएका कारण अन्य छलफलहरु हुन पाएका छैनन् ।