August 25th, 2019

सहकारी संस्थाको महत्व : सामुहिक कार्यको अबधारणा अनि उद्यमशीलताको सारथी

बैंकिङ बखर । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा  व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रीक ढंगबाट नियमित स्वायत्त उद्यमको रुपमा परिभाषित गरेको छ । 

आधुनिक सहकारीको सुरुवात
आधुनिक सहकारीको इतिहास  सन् १८४४ को डिसेम्वर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट बाट शुरु भएको हो । औद्योगिक क्रान्तिले कामविहिन हुन पुगेका कपडा बुन्ने जुलाहा मजदुरहरु मिल मालिक एवं पूँजीपतिहरुबाट चर्को शोषणमा परेका थिए । उनीहरु मिसावटयुक्त गुणस्तरहिन खानेकुराहरु खान बाध्य थिए । सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउन रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता पसल खोली सहकारीको शुरुआत गरिएको थियो । ब्रिटेनमा सहकारी स्थापना हुनुमा सहकारीका पिता मानिने रोवर्ट ओवेन (१७७१–१८५८) को महत्वपूर्ण योगदान रहेको छ । वेलायतमा १६९ वर्ष अगाडी स्थापना भएको रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता सहकारी जुन मर्म र भावनाले स्थापना भएको थियो । आज पनि त्यत्तिकै सान्दर्भिक छ । ती जुलाहा मजदुरहरुले धनि र पूँजीपति मालिकहरुको आर्थिक शोषणबाट बचाउने, विचौलियाको अन्त्य र सदस्यहरुलाई सेवाको उद्देश्य राखी स्थापना भएको उक्त सहकारीको ५ वटा सिद्धान्त नै समय समयमा परिवर्तन हुँदै आज हामी क्ष्ऋब्ले प्रतिपादन गरेको सात वटा सहकारीका सिद्धान्तले निर्देशित हुने गरेका छौं ।

नेपालमा सहकारीको विकास 
प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी, मङकाखलः, पर्म आदि नामबाट सहकार्यको शुरुआत भएको पाइन्छ ।नेपालमा वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको थियो । वि.सं. २०१३ सालमा तत्कालिन सरकारको कार्यकारी आदेशमा चितवन जिल्लामा बखान ऋण समिति समेतका १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना भएका थिए । राप्तीदून विकास परियोजना अन्तर्गत तत्कालिन अवस्थामा बाढीपीडित कृषकहरुलाई पुनरवास गराउने र कृषि ऋणको व्यवस्था गरी राहत उपलब्ध गराउने उद्देश्यले चितवन जिल्लामा खोलिएका सहकारी संस्थाहरुको कामबाट शिक्षा लिएर नेपाल सरकारबाट देशभर सहकारी संस्थाहरु खोल्ने निर्णय गरियो । यसै शिलशिलामा संस्थागत कानूनी व्यवस्था गर्न सहकारी संस्था ऐन २०१६ जारी गरी लागू गरियो । २०१८ मा सहकारी नियम पनि जारी भयो । २०२० सालमा नै सहकारी बैंकको स्थापना भएको पाइन्छ तर सहकारी सुझवुझका अभावका कारण कहिले भूमिसुधार, कहिले साझा संस्था ऐन ल्याई सहकारीलाई सरकारीकरण गर्ने काम भएको पाइन्छ । वि.सं. २०४८ मा साझा केन्द्रिय कार्यसमितिको विघटन गरी साझा संस्था ऐन २०४१ खारेज गरी सहकारी ऐन २०४८ जारी गरिएको थियो । उक्त समय पञ्चायतकाल भरिनै राज्यद्धारा निर्दे्शित र नियन्त्रीत संस्थाको रुपमा सहकारीलाई लिइन्थ्यो । 

२०४८ पश्चात सहकारी स्थापना गर्ने एक लहर नै चलेको पाइन्छ । नेपालको राज्य व्यवस्थाले ०१० साल देखि अपनाएको सहकारी अवधारणा हालसम्म ३३ वटा डिभिजन कार्यालयका ६८ वटा जिल्लामा काम गरिरहेका बेला देशभर सहकारी संस्थाको संख्या बढ्दो अवस्थामा छ । देशभरि रहेका ३३ हजार २ सय १ प्रारम्भीक सहकारी, ३ सय ३४ सहकारी संघ, २० वटा विषयगत संघ र केन्द्रिय तथा राष्ट्रिय सहकारी संघ गरी जम्मा ३४ हजार ६ सय २४ सहकारी दर्ता भएको अवस्था छ । पछिल्ला बर्ष हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ, शेयर सदस्यहरुको विभिन्न किसिमको शेयर रकम ६४ अर्ब रुपैयाँ र ८८ अर्ब रुपैयाँ निपेक्ष रकम रहेको तथ्यांक छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]